१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रा’को टोली काठमाडौं आइपुग्यो


0
Shares

काठमाडौं, पुस २६ । गोरखा दरबारबाट सुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ ।

पुस २१ गते देखि गोरखा दरबारबाट शुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ आज साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा आइपुगेको हो ।

पदयात्रामा नेपाली सेनाले गोरखा दरबारबाट राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्च लगायत नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरुको झण्डा काठमाडौं ल्याएको छ ।

सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा प्रयोग गरेको एकीकरणको बाटो हिंडेर एकताको सन्देश दिएको पनि बताएको छ ।

पदयात्रामा रहेको सेनाको टोली गोरखाबाट नुवाकोट हुँदै ६ दिन लगाएर आइतबार हनुमानढोका आइपुगेको हो ।

हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लबहरु, सर्वसाधारण लगायतले स्वागत गरेका थिए ।

सो अवसरमा शम्शेरदल गणले हनुमानढकोकामा तैनाथ शार्दुलजंग गुल्मलाई कार्यक्रम आयोजना गरी सैनिक ड्रिलको प्रदर्शन समेत गरेको थियो ।

पदयात्रामा रहेको टोलीले ल्याएको नेपालको झण्डा, टर्च र नेपाली सेनाको झण्डा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सोमबार प्रधान सेनापतिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।