
काठमाडौं, पुस २६ । ललितपुरको कर्मनासा खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीहरुसँग दुई करोड दुई लाख रुपैयाँका दरले जरिवाना मागदाबी गरेको छ ।
अख्तियारले नापी कार्यालय ललितपुरका प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालयका प्रमुख बाबुराम खनाल, नासुहरु ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेललाई भ्रष्टाचारमुद्दा लगाएको हो ।
त्यसैगरी युरो हाउजिङ प्राली, यूरो ल्याण्ड डेभलपर्स प्रालीका सञ्चालकहरु गुणीकाजी मानन्दर, योगेश्वर कृष्ण पराजुली, कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बविन मानन्धर र उज्जल मानन्धरलाई भ्रष्टाचारमुद्दा चलाएको हो ।
अख्तियारले काठमाडौं अस्पताल प्रालीका सञ्चालकहरु डा. ईश्वरलाल आचार्य र डा. दुर्गामान जोशी अनि श्रीमती दुर्गेश नन्दिनी भट्टचनलाई पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको छ ।
कर्मनासा खोला र आसपासको सार्वजनिक जग्गालाई मिलेमतो गरी हाउजिङका नाममा दर्ता गरिएको आरोप उनीहरुमाथि छ ।
अख्तियारको दाबी अनुसार, उक्त जग्गा २०२२ सालको नापीमा सार्वजनिक भनी जनिएको थियो ।
मिचिएको जग्गा करिब ८ रोपनी १२ आनाको छ ।
अख्तियारले सार्वजनिक जग्गा पटक–पटक खरिदबिक्री हुँदै घर बनाएका ३३ जनामाथि समेत मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्