
काठमाडौं, पुस २७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीका समस्या समाधान गर्न राज्यको स्रोत साधनले भ्याएसम्म आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पर्यटन क्षेत्रका व्यवसायीसँगको भेटमा ढकालले आन्तरिक पर्यटनलाई जोड दिने र भारत तथा चीनबाट धार्मिक पर्यटक ल्याउन प्रचार प्रसारमा लाग्ने समेत बताउनुभयो ।
मन्त्रीलाई भेट्न सिंहदरबार पुगेका व्यवसायीहरुले बाह्य पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नरहेकाले आन्तरिक पर्यटनलाई जोड दिनु पर्ने माग गरेका छन् ।
व्यवसायीहरुले पर्यटन क्षेत्रलाई सहज बनाउने गरी मापदण्ड तयार गर्न पनि सरकारसँग माग गरेका छन् ।
होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले आन्तरिक पर्यटकहरुलाई पनि स्थानीय तहहरुले पीसीआर रिपोर्ट मागेका कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा समस्या भएको गुनासो गर्नुभयो ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादु सुवेदीले कोरोना खोप लगाएर आएका विदेशी पर्यटकलाई कसरी भ्रमण गराउने भन्ने सम्बन्धमा छुट्टै मापदण्ड बनाउनुपर्ने बताउनुभयो ।
आरोही संघकी अध्यक्ष लाक्पा फुटी शेर्पाले लामो समय पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन बनेका आरोहीहरु समस्यामा परेका भन्दै राहतको माग गर्नुभयो ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले प्रदेशमा रहेका पर्यटन कार्यालयमा कोभिडलाई कारण बनाई कर्मचारी नबस्दा समस्या हुने गरेको बताउनुभयो ।
स्वास्थ्य मापदण्ड पालना गरी नेपाल आउने पर्यटकलाई क्वारेन्टिइनमा राख्न कुनै आवश्यकता नरहेको गुरागाईको तर्क छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)का अध्यक्ष अरनिको राजभण्डारीले रेस्टुरेन्ट र बार पर्यटन क्षेत्र भित्र पनि नपर्ने भएकोले राष्ट्र बैंकले दिएको राहत पाउन समेत नसकिएको दुखेसो व्यक्र गर्नुभयो ।
गत वर्ष चैत ११ गते बाट लकडाउन शुरु भएपछि नेपालको पर्यटन क्षेत्र ठप्प छ ।
लकडाउन खुलेपछि पनि स्वास्थ्य मापदण्डका कारण अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्