६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ओली–नेपाल दन्तबझान र लाजकोपसारो बनेका अरु नेता


0
Shares

राजन कुईंकेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अर्थात् डबल नेकपाको भदौं ५ गते बिहीबार बसेको सचिवालय बैठकमा जुन दृष्य देखिए, त्यो ‘गर्नेलाईभन्दा देख्नेलाई लाज’ नेपाली उखानको चरितार्थ थियो ।

दुनीञा हँसाउने दृष्यका पात्र थिए, देशकै बहालवाला र पूर्व प्रधानमन्त्री । दल एउटै । अझै भर्खर गठित पार्टी भए पनि पूर्व पार्टीगत झण्डा एउटै । अर्थात् प्रधानमन्त्री केपी ओली र माधव नेपाल । दुबै सत्तारुढ नेकपाका शीर्ष नेता ।

नेकपा एमालेका दुबै कार्यकारी तह हाँकिसकेका व्यक्ति । तर बिहीबार जुन दृष्य देखियो । त्यो आम मानिस अवाक् हुने थियो । अचम्मचाहिं सचिवालयमा भएका अरु नेता बिग्रेको परिस्थितिलाई अनुकूल बनाउनेभन्दा दर्शक बने । त्यतिमात्र होइन उनीहरुले यस्तो विषयलाई मिडियाबाजी गराएर दुबै नेताको हूर्मत लिइदिए ।

१२ वर्षदेखि मिर्गाैला रोगबाट पीडित भइ थप उपचारका लागि सिंगापुर जान लागेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच ओलीको स्वास्थ्यकैबारेमा दन्तबझान हुन पुगेको हो ।

सिंगापुर उड्नु अगाडी स्वास्थ्य कामनाका लागि बोलाइएको सचिवालय बैठकमा पार्टी सहमतिमा चलाउन ओलीले अर्का अध्यक्षलाई निर्देशन दिँदै गर्दा नेपालले ‘आफुलेचाहिँ जसरी चलाएपनि हुने अरुलेचाहिँ सहमति गर्दिनुपर्ने ?’ भन्दै प्रश्न गरेपछि बातावरण बिग्रेको प्रत्यक्षदर्शी नेताहरु बताउँछन् ।

त्यसपछि बिग्रेको बातावरणमा ओली र नेपाल एकार्कामा भनाभनमा ओर्लिए । यतिसम्म कि एकले अर्कालाई ‘तपाई त म मरोस् भन्ने चाहनुहुन्छ’ र ‘तपाईजस्तो निकृष्ट आपराधीक सोच’ भएको व्यक्ति नभएको जस्ता शब्दवाण प्रहार गरे ।

नेपालीमा उखान छ, ‘जो अगुवा उहि बाटो हगुवा’ । मुलुक चलाउने उपल्लो तहका दुई नेताबाट निस्केका यस्ता अभिव्यक्तिले के देखाउँछ ? कुन बेला के बोल्ने के नबोल्ने भन्नेसम्म पनि हेक्का छैन ? अगुवाकै यो शैली देखेपछि तिनका कार्यकर्ता र अनुचरहरुले के अनुशरण गर्लान् ?

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै आफुलाई भित्तै पुग्ने गरी धकेलेपछि पछिल्ला दिनमा नेपाल उनीसँग रुष्ट थिए । हुनत नेपाल ओलीसँग मात्रै होइन बारम्बार आफुलाई धोका दिने पुष्पकमल दाहाल र बामदेव गौतमसँग पनि उत्तिकै रुष्ट छन् पक्कै ।

अघिपछिझै यसपटक पनि आफ्नो स्वार्थ पूरा गर्नकै लागि दाहाल र गौतमले नेपाललाई उचाले र अन्तिममा उसैगरी थचारे, जसरी यसअघि गर्दथे । विचार र नीतिभन्दा नितान्त व्यक्तिगत स्वार्थका लागि उपयोग गर्ने बानी परेका दाहाल र गौतमले नेपाललाई उपयोग गरेर ओलीसँग पद बाँडे । र उनलाई एक्लै पारिदिए । देखाउन नमिलेर मात्र नत्र रीस त नेपाललाई ओलीभन्दा पनि दाहाल र गौतमतिरै बढी थियो होला । त्यही मेसोमा कसोकसो बिहीबारको बैठकमा उनको रीसको पारो एकैतर्फ अर्थात् ओलीतिर सोझियो ।

ओलीलाई पनि बारम्बार पार्टी सञ्चालनमा टाँङ अड्याउन खोजेको झोंक थियो होला नै । दाहाल, गौतमसहितलाई आफुतिर तानेर एक्लो पारेको बेला नेपाललाई राम्रै सबक सिकाउन मन थियो सायद उनलाई । तर सन्दर्भ भने साह्रै दरिद्र !

ओली–नेपालको एकपछि अर्को गर्दै लम्बिएको दन्तबझानले सचिवालय बैठक अरु विषयमा प्रवेश गर्नै सकेन । कटूतापूर्ण बैठकको विषय हुबहु सञ्चारमाध्यममा ल्याउने नेताहरुका अनुसार, नेता नेपालले ‘स्वास्थ्यलाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईंको स्वास्थ्यलाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे ।

शुरुमा त सूचना पनि ओलीका पक्षमा चुहाइयो । अर्थात् माधव नेपालले ओलीलाई स्वास्थ्यलाभको कामनासम्म गरेनन् भन्ने आशयका साथ । आफ्नो राजनीतिक मात्र नभई मानवीय चरित्रसम्म सकाउने उद्देश्यले सूचना सञ्चारमाध्यममा ल्याइएपछि स्वयं नेता नेपालले ‘आफुले स्वास्थ्यलाभको कामना गर्दा ओलीले लिन अस्वीकार गरेको’ बताउनु परेको थियो ।

त्यसपछि त एकपछि अर्का नेताले आफुनिकटका पत्रकार र सञ्चारमाध्यमलाई साँचिलो बन्दै सूचना ‘चुहाउन’ थाले । दुई शीर्ष तहका नेताको संवाद त्यो स्तरसम्म ओर्लन नदिन वरिष्ठ भनिएका एक से एक नेताले बेलैमा हस्तक्षेप गरेनन् । मूकदर्शक बनेर रमिते बनिरहे ।

ओली र नेपालको हूर्मत लिनकै लागि फेरि तिनै नेताले बैठक सकिन पाउँदा नपाउँदै सञ्चारमाध्यममा सूचना चुहाईदिए । यो चाहिं बाँकी नेताको लाजकोपसारो नै थियो । यसले ओली र नेपालको मात्र हूर्मत लिएन, स्वयं ति नेताको सोच पनि छर्लिगएको छ । 

ओलीलाई लागेको छ, आफुले दुःखले आर्जेको नेकपा डबलमा भाँजो हाल्ने नेपाल नै हुन् । आफ्ना निर्णय चित्त पनि नबुझ्ने तर अघिल्तिर केही बोल्न नसक्ने नेताहरु आफ्नो स्वार्थसिद्ध गर्न यिनै नेपालकहाँ पुग्ने गरेका ओली स्वयं पनि भलिभाँति जानकार थिए । अरु नेता नबोल्दा सुरिएर बोल्ने र पार्टीमा एकलौटी गर्न नदिने नेपाललाई ‘ठीक’ लगाउन उनी मौकाको ताकमा थिए । लोभका स्वार्थका घैटा बोेकेकाहरुलाई कसरी ठीक लगाउन सकिन्छ भन्नेमा ओली त जानकार छँदै छन् ।

भयो त्यही । दाहाल र गौतम ओलीको ‘चारो’मा लागे । एक्लिए नेपाल । गौतमलाई उपाध्यक्षमा पदोन्नति गर्न सहमति बन्दा नेपालको मर्यादाक्रम दोस्रोबाट तेस्रोमा घटुवा गरियो । जुन उनीमाथि सबै मिलेर गरिएको राजनीतिक ‘पानी कटुवा’ नै थियो । दाहाल कार्यकारी अधिकारसहितको अध्यक्ष पाइने भएपछि चूप थिए ।

यो निर्णयले नेता नेपालको सार्वजनिक र राजनीतिक छबीमा कस्तो असर पर्ला भन्नेमा सचिवालयमा भएका कसैले पनि ओलीसँग दोहोरो सवाल गरेनन् । जसले नेपालको मुलायम मन छियाछिया भयो नै । त्यतिमात्र कहाँ हो र ? सारा संगठनभित्रै उनी पक्षीयहरु पजनीको मारमा परे । यसले उनी रुष्ट थिए नै ।

त्यसैको विरोधमा उनले सचिवालयमा आफ्नो असहमति दर्ता गराएका थिए । त्यसमा छलफल गरिनुपर्ने माग उनको थियो । तर यो असहमति पत्रमा कुनै छलफल नै नहुने निष्कर्ष ओलीले सुनाइदिए । त्यसले पनि परिस्थिति बिग्रेको त्यही भएका एक नेता स्वीकार्छन् ।

नेपालविरुद्ध सामाजिक सञ्जालमा लेख्नेकै पक्षपोषणमा अध्यक्ष ओली उत्रिँदा अरु नेता मूकदर्शक देखिए । त्यसले नेताहरुको मर्यादा कायम राख्छ र ? भन्नेसम्म प्रश्न अध्यक्षसँग राख्न सकेनन् । बरु सबै संवादमा मौन रहेर उनीहरु ‘मौनं सम्मती लक्षणम्’ मा देखिए । यसले दुई शीर्ष नेताको तिक्ततापूर्ण संवादलाई जनमासमा असरल्ल पारेर बाँकी नेता लाजकोपसारो मात्र बनेका छन् ।