
कैलाली, पुस २७ । थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीले कैलारीमा थारू समुदायको अत्यधिक मात्रामा बसोबास रहेकाले थारू समुदायको परम्परागत संस्कृतिको जगेर्नाका साथै स्थानीय कला, परम्परा प्रवद्र्धन गर्नका लागि बिदा दिने निर्णय बताउनुभयो ।
पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकायलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्