
काठमाडौं, पुस २८ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो ।
बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताउनुभयो ।
उहाँका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए ।
मंगलबार पनि ८८ उडान तालिका रहेको छ ।
बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ ।
उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् ।
मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन ।
सोमबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए ।
यतीको मंगलबारका लागि तय भएको विराटनगर र भद्रपुर गन्तव्यमा अहिलेसम्म पनि उडान हुनसकेको छैन ।
विराटनगरमा चार उडान तालिका छ । भद्रपुरको दुई उडानमध्ये एक रद्द गरिएको कम्पनीले जनाएको छ ।
बुद्ध एयरको मात्रै सोमबार २८ उडान रद्द भएको थियो ।
बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन ।
बुद्धले मंगलबार पनि विराटनगरमा सात उडान राखेको छ । मौसमको खराबीले अहिलेसम्म उडान भएको छैन ।
यस्तै सोमबार श्री एयरलाइन्सको तीन र सौर्यका दुई उडान रद्द भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ ।
विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मंगलबार काठमाडौंको अतिकतम तापक्रम २१ दशमलव ५ र न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्रिसेल्सियस रहेको छ ।
हुस्सु र कुहिरोका कारण देशका अधिकांश स्थानको तापक्रम घटेको छ ।
राजधानी काठमाडौं उपत्यकामा पनि मंगलबार बिहानैदेखि राम्रोसँग घाम नलागेका कारण केही चिसो महसुस गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्