१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘प्रधानमन्त्रीले पदमा बस्ने नैतिक आधार गुमाए’


0
Shares

काठमाडौं, पुस २८ । नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षको विकल्प नभएको धारणा राखेका छन् ।

काठमाडौं मंगलबार आयोजित वृहत नागरिक आन्दोलनलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाई राष्ट्रसभामा गएर खारेज गर भन्ने अधिकार नभएको भन्दै लिखित संविधान भएको मुलुकमा आफुखुसी गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई कहाँबाट आयो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले संविधानवादमाथि घात गर्नुभएका प्रधानमन्त्रीले पदमा बस्ने आधार गुमाएको नभएको जिकिर गर्नुभयो ।

यस्तै, आदिवासी जनजाती नागरिक समाजका सदस्य तथा नागरिक अगुवमा डा. मुक्तसिंह तामाङ्ले प्रतिनिधि सभा विघटनको मुद्धा प्रधानमन्त्री ओलीको प्रतिगमनको सिलसिलाको पछिल्लो कदम भएको धारणा राख्नुभयो ।

उहाँले प्रधानमन्त्रीको गैरजिम्मेवारी कार्यले संघीयता, धर्म निरपेक्षता लगायतका महत्वपूर्ण ४ वटा उपलब्धिको गला रेटेको आरोप लगाउनुभयो ।

नेपाल पत्रकार महासंघका कार्यवहक अध्यक्ष दिलिप थापाले मुलुकमा हुनेगरेको प्रतिगमनको विरुद्धको लड्न नै पत्रकार महासंघको जन्म भएको बताउनुभयो ।

लेखक युग पाठकले प्रधानमन्त्री ओलीको कदमले देश सेटिङ्गमा चलिरहेको छ कि भन्ने शंका गर्ने ठाउँ मिलेको जिकिर गर्नुभयो ।

तराई मधेश राष्ट्रिय परिषदका सी.एन. थारुले जनताको सार्वभौमिकता तहसनहस पार्ने कार्य स्विकार्य नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध लाइभ पेन्टिङ तथा नाटक समेत प्रस्तुत गरिएको थियो ।