१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कंक्रिटको कमल फूलाउने मेयरको कस्तो ड्रिमप्रोजेक्ट ?


39
Shares

काठमाडौं, पुस २९ । सिमसार क्षेत्र काठमाडौंको कमलपोखरीलाई बचाउन विज्ञहरुले जोड दिएका छन् ।

पोखरीको पानी सुकाउन नहुने, हिलो दलदल निकाल्न नहुने र कंक्रिटको संरचना रोक्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

जुममार्फत् सञ्चालन गरिएको ‘पोखरी संवाद’मा अभियन्ताहरुले कंक्रिटको कमल फूलाउने मेयरको ड्रिम प्रोजेक्टमाथि प्रश्न गर्दे कमलपोखरीलाई बचाउन सबैलाई आग्रह गरे ।

पूर्वमन्त्री गणेश शाहले पोखरीको इतिहासको अध्ययन गरेर अतिक्रमित क्षेत्रलाई पुरानै स्वरुपमा रेखांकन गरी पुनःस्थापित गर्नु पर्नेमा जोड दिनुभयो ।

स्थानीयतहमा सिमसार लगायतको जल संम्पदाको संरक्षण गर्न ऐन बनाउनु पर्ने उहाँको भनाइ थियो ।

हाइड्रो इञ्जिनियर अजयमणि दीक्षितले पुर्खाले हाइड्रोलोजिलाई नबिगारिकन पानी प्रणालीको विकास गरेको ज्ञान र सीप अहिलेको पुस्ताले सिक्नु पर्ने बताउनुभयो ।

यसरी पोखरी दोहन र अतिक्रमणकै कारण बाढी–पहिरोको प्रकोप वर्षेनी बढेको उहाँको भनाइ थियो ।

नेपालको परम्परागत पानी प्रणाली विश्वमै उत्कृष्ट रहेको भन्दै दीक्षितले यसलाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्नुमा जोड दिनुभयो ।

पोखरी तथा हिति संरक्षणविद् सुशिल श्रेष्ठले कमल पोखरीको हिलोलाई बचाउन प्राथमिकता दिनु पर्ने भन्दै प्राकृतिक भूमिगत जल प्रणालीलाई संरक्षण गर्नु पर्ने बताउनुभयो ।

वातावरणविद् भूषण तुलाधरले सिमसार र भूमिगत पानी संरक्षण नगरे जमिन भासिँदै जाने चेतावनी दिनुभयो ।

जल प्रणालीलाई अहिले नै गम्भिर भएर बचाउनु पर्ने र सरकारले लगानीसमेत गर्नु पर्ने उहाँको सुझाव थियो ।

सम्पदाविद् सुदर्शन तिवारीले कमलपोखरी लिच्छविकालिन हुनसक्ने तथ्य औंल्याउँदै जैविक र प्राकृतिक पोखरीको पानी सुकाएकोमा आपति जनाउनुभयो ।

संम्पदाप्रेमी रविन्द्र पुरीले कमल फूल्ने पोखरीमा सिमेन्टको कमल फूल बनाउने कार्य लज्जास्पद र हाँस्यासपद भएको बताउनुभयो ।

महानगरको सहरी योजना आयोगका प्रमुख सरोज बस्नेतले पोखरीमा पानी कसरी पुनःभरण गर्ने बारे छलफल भएको बताउँदै पोखरी संरक्षणका लागि नै अहिलेको योजना अघि सारिएको दाबी गर्नुभयो ।

कमलपोखरी संरक्षण समितिका अध्यक्ष प्रकाश कार्कीले महानगरपालिकाले पोखरी संरक्षण गर्ने योजना ल्याए पनि ठेकेदारले लापरबाही गरिरहेको आरोप लगाउनुभयो ।

करिब ९ करोड ४७ लाख रूपैयाँ लागतमा मेयरको ड्रिम प्रोजेक्टको रुपमा काठमाडौं महानगरपालिकाले कमलपोखरीमा कंक्रिट निर्माण गर्न कार्य अगाडि बढाइ रहेको छ ।