
खिलनाथ ताजपुरिया (इमेज)
काठमाडौं, पुस २९ । राजनीतिक रुपले विभाजनको अवस्थामा पुगेका नेकपाको दुई समूह अहिले एक अर्का समूहका नेताहरुलाई कारवाही गर्ने प्रतिष्पर्धामा छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको दाहाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई मात्र कारवाही गरेको र अन्यको भने जिम्मेवारी हेरफेर मात्र गरेको दावी गरेको छ भने ओली समुहले पनि कसैलाई कारवाही नगरी जिम्मेवारी हेरफेर मात्र गरेको जिकिर गरेको छ ।
प्रतिनिधि सभा विघटनलगत्तै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारीबाट हटाएर नेपाललाई अध्यक्षको जिम्मेवारी दियो ।
बदलामा ओली समूहले दाहाललाई कार्यकारी भूमिकाबाट र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई उक्त जिम्मेवारी दिइयो ।
राजनीतिक रुपले विभाजन भएको नेकपाका दुवै समूह संगठन विस्तारको नाममा एक–अर्का पक्षलाई कारवाही गर्ने होडबाजीमा छन् ।
दुवै समूहले केन्द्र, प्रदेश र जिल्ला तहमा जिम्मेवारी हेरफेरको नाममा आफ्नो समूहकालाई जिम्मेवारी दिने र अर्को समूहका नेतालाई हटाउने प्रतिष्पर्धा जारी राखेका छन् ।
केन्द्रीय समिति विस्तारदेखि निर्वाचनको तयारी, महाधिवेशन सम्पन्न गर्न भन्दै ओली समूहले दाहाल–नेपाल समूहका नेताहरुलाई जिम्मेवारीबाट हटाएर आफु पक्षका नेताहरुलाई जिम्मेवारी दिएको छ ।
तर, दाहाल–नेपाल समूहका कुनै पनि नेताहरुलाई कारवाही नगरेको दावी गर्ने ओली समुहले हालसम्म ४० भन्दा बढी जिल्लामा जिम्मेवारी हेरफेर गरिसकेको जनाएको छ ।
दाहाल–नेपाल समुहले ओली निकट मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव, प्रदेश संसदीय दलको नेतालाई पदमुक्त, प्रदेश ईन्चार्ज र सचिवको जिम्मेवारीबाट हटाएर आफु निकटलाई जिम्मेवारी दिएको छ ।
कतिपय प्रदेश सांसदलाई निलम्बनसमेत गरेको छ ।
तर दाहाल–नेपाल समूहले भने प्रदेशसभामा अविश्वासको प्रस्ताव तथा सांसदहरुको निलम्बन केन्द्रबाट नभएको दाबी गरेको छ ।
दुवै समूहले केन्द्रदेखि जिल्लासम्म कसैलाई पनि कारवाही गरेको नभई जिम्मेवारी हेरफेर मात्र गरेको जिकिर गरे पनि राजनीतिक रुपले विभाजनसंगै नेकपाका दुवै समूहबीच एक–अर्कालाई पछार्ने होडबाजी चलेको छ ।
भिडियो हेर्नुहोस्
भिडियो : राममान डंगोल
प्रतिक्रिया दिनुहोस्