२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपाभित्र पनि दुई धार


0
Shares

अक्कल कुँवर (इमेज)
काठमाडौं, माघ १ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी जसपा भित्र प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन बारे दुई धार देखिएको छ ।

पूर्व समाजवादी पार्टी पृष्ठभूमिको समुह आन्दोलनबाटै प्रतिनिधिसभा पुनःस्थापना गर्ने लाइनमा देखिएको छ भने पूर्व राजपा पृष्ठभूमिका नेताहरु निर्वाचनतिर लचक बन्दै गएका छन् ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवलगायत पूर्व संघीय समाजवादी पार्टी पृष्ठभूमिको धारले प्रतिनिधिसभा पुनःस्थापनालाई प्राथमिकता दिएको छ ।

अदालतले निर्वाचनको पक्षमा फैसला गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउनेमा आशंका व्यक्त गरिरहेको यो धार सडक संघर्षबाटै प्रतिनिधिसभा पुनःस्थापनाका लागि दबाब र प्रधानमन्त्री ओलीको विस्थापनको अडानमा छ ।

अदालतले निर्वाचनकै पक्षमा निर्णय दिएपनि संविधानविपरित चल्ने ओली नेतृत्वकै सरकारलाई वैधानिकता दिएर निर्वाचनमा जान नहुने भट्टराई–यादव समुहको तर्क छ ।

संघीय समाजवादी पृष्ठभूमिका नेता डा. शिवजी यादवले संसद पुनःस्थापना र निर्वाचन बारे दुई धार रहेपनि पार्टीको निर्णय नै आधिकारिक हुने बताउनुहुन्छ ।

पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरलगायतका राजपा पृष्ठभूमिको समुह भने सडक आन्दोलन संगसंगै निर्वाचनको माहोल बनाउँदै लैजानुपर्ने अडान छ ।

अदालतको निर्णय निर्वाचनको पक्षमा भए दायाँबायाँ नसोचेर सिधै चुनावमा जानुपर्ने तर्क राखेको यो समुह ओली नेतृत्वकै सरकारले गर्ने चुनावमा जान तयार देखिन्छ ।

निर्वाचनको पक्षमा फैसला आए चुनावमा जान डराउन नहुने यो समुहको तर्क छ ।

राजपा पृष्ठभूमिका नेता केशव झाले अन्य विषयको लागि सडक संघर्षलाई निरन्तरता दिएपनि प्रतिनिधिसभा विघटनको विषयमा अदालतको आदेश स्वीकार गरेर जाने बताउनुहुन्छ ।

दुवै धारमा अदालतको फैसला स्वीकार गर्ने पक्षमा रहेपनि निर्वाचनको पक्षमा फैसला आए कसरी निर्वाचनमा जाने भन्ने विषयमा पनि फरक मत देखिएको छ ।

विघटनको मुद्धा किनारा लागे पनि आफुहरुले विगतदेखि उठाउँदै आएको संविधान संशोधनको मुद्धालाई लिएर सडक आन्दोलनलाई निरन्तरता दिने जसपाको तयारी छ ।

भिडियो हेर्नुहोस्

भिडियो : भरत केसी