
काठमाडौं, माघ २ । माघ २ गते सँधै झै यस वर्ष पनि भूकम्प दिवस मनाइदैछ । मुलुकमा विभिन्न समयमा आएका भूकम्प र यसले पु¥याएको क्षतिको सम्झना तथा सुरक्षाका उपायहरुमाथि छलफल र बहस गर्दै यो दिवस मनाउने गरिएको छ ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको त्रासदीपूर्ण महाभूकम्पको सम्झनामा वर्षेनी माघ २ मा भूकम्प दिवस मनाउने गरिको हो ।
यस वर्ष देशभर विभिन्न कार्यक्रम गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । यसका लागि यस वर्षको सन्देश ‘बुहप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने तय गरिएको छ ।

विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउन सरकारले यो दिवस मनाउन थालेयता २०७२ सालमा देश र देशवासीले अर्को महाभूकम्पको सामना गर्नुपर्यो ।
विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो भने आठ लाखभन्दा बढी निजी घर ध्वस्त बनायो । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा कार्म नलाग्ने गरी भत्किए ।
गोर्खा भूकम्पको पाँच वर्ष हुँदा पनि अझैसम्म पुनर्निर्माणको काम सकिएको छैन । सरकारले अझै पनि नागरिकलाई पाल र टहराबाट आफ्नै घरभित्र ल्याउन सकेको छैन । अझै कति सम्पदा र भवनहरु बनाउन बाँकी छन् ।
सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥याएको थियो भने अरु १८ जिल्लाले आंशिक क्षति ब्यहोर्न पर्यो ।
यस अवसरमा मूल समारोह समितिले भने भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नं ८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रम गर्दैछ ।
यसैक्रममा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी पनि आयोजना गरिने भएको छ । प्रदर्शनी माघ २ गते ३ बजेदेखि ५ बजेसम्म र माघ ३ देखि ५ गतेसम्म बिहान १० देखि १२ बजे, दिउँसो १२ः३० देखि २ः३० एवं दिउँसो तीनदेखि पाँच बजेसम्म खुला रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्