२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


संसद् विघटनको निर्णय नसच्याए अनर्थ हुन्छ, डटेर सामना गरौंः कांग्रेस नेता पौडेल


0
Shares

congress ramchandra poudel

काठमाडौं, माघ २ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले सबैले डटेर सामना गर्नुको विकल्प नभएको प्रष्ट गर्नुभएको छ ।

शुक्रबार भिडियो सन्देश दिँदै नेता पौडेलले संसद् विघटनको निर्णय नसच्याए अनर्थ हुने र यस्तो असंवैधानिक कार्यले देशलाई अन्धकारतिर लैजाने जिकीर गर्नुभएको हो ।

प्रधानमन्त्री केपी ओलीले नै संसद् विघटन अवैधानिक भएको स्वीकारिसकेकाले विरोध प्रदर्शनमा उत्रनुको विकल्प छैन भन्दै पौडेलले भन्नुभएको छ, ‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन् । स्वीकार गरेका छन् ।’

देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने प्रपञ्च भएको भन्दै नेता पौडेलले जनताको आवाज सर्वोच्च अदालतसम्म पुर्‍याउन पनि डटेर प्रदर्शन गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

७० वर्ष लगाएर बनाएको संविधान र व्यवस्थामा प्रधानमन्त्री ओलीले प्रहार गरेको आरोप पनि नेता पौडेलले लगाउनुभएको छ ।

शनिबार पार्टीले देशका ७५३ वटै स्थानीय तहमा राखेको विरोध कार्यक्रमको पूर्वसन्ध्यामा नेता पौडेलले कार्यकर्तालाई विरोध प्रदर्शनका लागि अपील गर्नुभएको हो । यसअघि कांग्रेसले संघीय र प्रदेश निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गरेको थियो ।

सभापति शेरबहादुर देउवाले पनि शनिबारको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अपील गर्नुभएको छ ।