
रुकुम, माघ ४ । रुकुम पश्चिमका ग्रामीण सडकमा गाडी भाडादर घटाइएको छ ।
जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले माघ १ गतेदेखि ५४ वटा सडकमा नयाँ भाडादर कायम गरेको हो ।
यातायात व्यवस्थापनका लागि गत मंसिर २४ मा बसेको सर्वदलीय बैठकले भाडादर पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।
जिल्लाभित्रका आन्तरिक रुटमा चल्ने सवारी साधनले टिकट नदिने गुनासो बढेपछि टिकट पनि अनिवार्य गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।
उहाँका अनुसार रुटअनुसार भाडादर पुनरावलोकन गरिएको छ ।
‘क’, ‘ख’ र ‘ग’ वर्गमा सडक विभाजन गरी भाडादर कायम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार ‘क’ वर्गका ६, ‘ख’ वर्गका १३ र ‘ग’ वर्गका ३५ वटा रुटको भाडादर कायम गरिएको छ ।
‘क’ वर्गका सडकमा प्रतिकिलोमिटर ४ रुपैयाँ, ‘ख’ वर्गको रुटमा ७ र ‘ग’ वर्गका सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ भाडा निर्धारण गरिएको कार्यालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्