१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अफगानिस्तानमा दुईजना महिला न्यायाधीशको गोली हानी हत्या


0
Shares

काठमाडौं, माघ ४ । अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् ।

उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको अदालतका एक प्रवक्ताले समाचार संस्था एएफपीलाई बताए ।

गोली प्रहारबाट न्यायाधीशहरुका सवारीचालक घाइते भएका छन् । घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन ।

आक्रमणका शृङ्खलामा तालिबान विद्रोहीहरूको भूमिका रहेको हुनसक्ने आशङ्का गरिएको छ ।

तर तालिबानले भने ती घटनाको जिम्मेवारी लिएको छैन ।

सञ्चारकर्मी, अधिकारवादी र राजनीतिक व्यक्तित्वहरूप्रति लक्षित गरी पछिल्ला केही महिनाहरूमा शृङखलाबद्ध रूपमा गरिएका हत्यामध्ये यो पछिल्लो घटना हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ गरिएका अमेरिकी सेनाको सङ्ख्या घटाइरहेका बेला पछिल्ला आक्रमण भइरहेका छन् ।

यसै हप्ता बीबीसीलाई दिएको अन्तर्वार्तामा अफगानिस्तानका उपराष्ट्रपतिले अस्थिर राष्ट्रबाट अमेरिकी सेना फिर्ता हुनुले हिंसाको जोखिम झन् बढाएको बताएका थिए ।

अफगान सरकार र तालिबानबीच दोहामा शान्ति वार्ता भइरहेका बेला व्यक्ति लक्षित आक्रमणहरू भइरहेका छन् । (एजेन्सी)