
प्रकाश मैनाली (इमेज)
सर्लाही, माघ ५ । शीतलहरका कारण प्रदेश–२ का जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।
एक हप्तादेखि चिसो बढेसँगै विद्यालयहरुसमेत बन्द भएका छन् ।
बाक्लो हुस्सु लागेकाले जनजिवन प्रभावित बनेको हो ।
चिसो हावा र बाक्लो हुस्सुले सर्लाहीसहित तराईका जिल्लाहरुमा जाडो झन् बढाएको छ ।
चिसोले न्यानो कपडा नभएका अति विपन्न र दैनिक मजदुरी गरेर खाने पिछडिएको दलित परिवार झनै प्रभावित भएको छ ।
विभिन्न ग्रामीण भेगका सर्वसाधारण चिसोबाट प्रभावित भएर दिनभरजसो आगो तापेर बिताउने गरेका छन् ।
बिहान–बेलुकाको छाक टार्नै समस्या हुने धेरै परिवारसँग चिसो छल्न आगो बालेर ताप्नुबाहेक अन्य विकल्प पनि छैन ।
अहिले प्रदेश २ का विभिन्न जिल्लाका गाउँमा स्थानीयहरु आ–आफ्नो घर तथा चोक–चौतारामा आगो तापेर बसेका देखिन्छन् ।
किसान र मजदुर पनि यो चिसोमा प्रभावित भइरहेका छन् ।
यस क्षेत्रमा केही दिनदेखि दिउँसोपख घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको हो ।
चिकित्सकले अहिलेको धूलोको प्रदुषण र कठ्यांग्रिदो चिसोले स्वास्थ्य समस्या आउने भन्दै सचेत रहन सुझाव दिइरहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जिल्लाका सबै पालिकालाई ४ चट्टाका दरले सहुलियत दरमा काठ उपलब्ध गराउने निर्णय गरेको भएपनि सबै पालिकालाई काठ उपलब्ध गराइएको छैन ।
चिसोले प्रभावित भएका राहत दिन स्थानीय निकायले पहल नगरेको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।
स्थानीय तहहरुले बेवास्ता गर्दा गरिब तथा बिपन्न वर्गका परिवारलाई जाडोका कारण दैनिकी चलाउन समस्या भएको छ ।
यता, चिसो बढेपछि तराईका जिल्लाका स्थानिय तहरुले केही दिनका लागि विद्यालयहरु बन्द गराएका छन् ।
जति सक्दो छिटो काठ लगेर गरिब तथा आवश्यकता अनुसार चोकमा आगो ताप्ने व्यवस्था मिलाउने तयारी गरीएको छ ।
तराईमा हरेका वर्ष चिसो मौसम सुरु भएसँगै जनजिवन कष्टकर हुने गरेको छ ।
चिसोका कारण मृत्यु हुनेको संख्या पनि हरेक वर्ष बढ्ने गरेको छ ।
यसमा जिल्ला विपद् व्यवस्थापन समिति तथा प्रदेश सरकारले खासै चासो देखाएको पाइँदैन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्