
प्रदिप पौडेल (इमेज)
पोखरा, माघ ५ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम प्रभावित हुदै गएको छ ।
निर्धारित समयभन्दा ६ महिनाअघि नै संचालनमा आउने भनिए पनि पछिल्लो समय निमार्णको काम प्रभावित बन्दै गएको हो ।
आगामी सन् २०२१ जुलाई १० मा निर्माणको काम सक्ने समयसीमा रहे पनि ६ महिना अगावै पूरा गर्ने लक्ष्य राखिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गति सुस्त हुन थालेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले विमानस्थलको ७० प्रतिशत काममात्र पूरा भएको बताउनुभयो ।
विमानस्थलको २ हजार ५ सय मिटर लामो रन–वे, ट्याक्सी–वे, टर्मिनल बिल्डिङ, टावर, ह्याङ्गर, एप्रोन, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग सिँचाइ नाला तथा कल्भर्डको काम मात्र सकीएको छ ।
बिमानस्थलमा १४ वटा भवन भने निर्माण भई सकेका छन् ।
फिनिसिङको चरण बाँकी रहेको छ भने बाउन्ड्री फिनिसिङको काम पनि भई रहेको छ ।
त्यस्तै मार्किङ, टर्मिनल फिनिसिङ, ढल पाइप लगाउने काम भए पनि सुस्त गतिमा छ ।
ल्याण्डफिल साइट स्थानान्तरण, फ्यूल स्टेसन निर्माण, भलबाढी निकास, डाँडा कटानलगायत समस्याको रुपमा रहेको छ ।
विमान उडानमा अवरोध हुन नदिन आयोजनास्थल नजिकैको रिठ्ठेपानीको डाँडा कटान आवश्यक छ ।
नेपाल आयाल निगमलाई तेल डिपो निर्माणका लागि जग्गा उपलब्ध गराईएपनि निगमबाट हालसम्म कुनै काम भएको देखिदैन् ।
यता पोखरा–१४ मा रहेको ल्याण्डफिल साइट स्थानान्तरण हुन सकेको छैन ।
नजिकै ल्याण्डफिल साइट हुँदा विमानमा चराचुरुङ्गी आउजाउ गर्ने र विमानमा ठोक्किन सक्ने भएकोले सुरक्षाका दृष्टिकाले खतराको रुपमा रहेको छ ।
ल्याण्डफिल साइट सार्नका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङकोसमेत ध्यानाकर्षण गराउदा पनि काम भएको छैन ।
झण्डै ५ दशकदेखिको पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल सपना पूरा हुने दिन नजिकिँदै जाँदा केही बाह्य समस्या पनि देखा पर्न थालेकाछन् ।
अर्कोतिर कोरोनाका कारण पनि पछिल्लो समय बिमानस्थल निमार्णको काम प्रभावित बनेको छ ।
हाल आयोजनामा नेपाली र चिनियाँ गरी ३ सय ३० जनाले काम गरिरहेका छन् ।
पहिले काम गरेका केही चिनियाँ कामदार कोरोना खोप लगाउन चीन गएका कारण पनि बिमानस्थल निर्माणको काम सुस्त भएको देखिन्छ ।
नेपालले चीन सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमासमेत हेरिएको छ ।
दुई हजार ५ सय मिटर लामो धावनमार्गको यो विमानस्थलमा उडान वा अवतरित हुने विमानको यात्रु क्षमता झण्डै २ हजार जनाको हुनेछ ।
यो विमानस्थल संचालन आएपछि पोखरामात्र नभै समग्र नेपालकै पर्यटन क्षेत्रले फड्को मार्ने देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्