९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


प्रधानमन्त्री ओलीले सहमतिको अतिक्रमण गरे : दाहाल


0
Shares

काठमाडौं, माघ ५ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणका बेला भएका सहमतिको अतिक्रमण गरेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा आयोजित आफु पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले पार्टी एकताको बेलामा गरेको सहमति, समझदारी तथा निर्णयहरुको अतिक्रमण गरेपछि पार्टीमा समस्या शुरु हुन थालेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दाखेरी तय गरिएको विचार र विधि पद्धतिको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएका कारण अहिलेको परिस्थितिको सिर्जना भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनशाय भएको भएपनि प्रधानमन्त्री ओलीको शक्ति केन्द्रीत गर्ने मनशाय मात्रै भएको जिकिर गर्नुभयो ।

ओलीले सबै सहमति किर्ते गरेका कारण प्रतिगामी सोच रहेछ भन्ने प्रमाणित भएको उहाँको भनाई छ ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकोले आफुहरुले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै प्रचण्डले आफुहरु जनताको अदालतमा जाने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले माघ १६ गतेपछि आम हड्ताल नै गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा सो समुहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नरहेको बताउनुभयो ।

अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रुपमा पनि बस्न लायक नरहेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भएपनि ५ वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्नुभयो ।

नेपालले पार्टीको आधिकारिकता र सूर्य चिन्ह कसैले खोस्न नसक्ने दाबी पनि गर्नुभयो ।

ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेर अस्ताउँदो सूर्य चुनाव चिन्ह लिएको जिकिर गर्दै उहाँले ओलीको त्यही चुनाव चिन्ह हुने उल्लेख गर्नुभयो ।