१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘निर्वाचन हुन्न, भए २०५४ सालको जस्तो’–भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त


0
Shares

Bhojraj Pokhrel

काठमाडौं, माघ ७ । निर्वाचन आयोगका पूर्वप्रमुखआयुक्त भोजराज पोखरेलले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गर्ने भन्दै संसद विघटन गरे पनि तोकिएको मितिमा निर्वाचन नै नहुने दाबी गर्नुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रमुखआयुक्त पोखरेलले वैशाखमा निर्वाचन हुन नसक्ने प्राविधिक तथ्यांकसमेत राख्दै भन्नुभयो, ‘कसैगरी ओली सरकारले निर्वाचन गराइ हाल्यो भने पनि त्यो २०५४ सालको जस्तो हुनेछ ।’

सबै पार्टीभित्रका युवालाई नेतृत्व लिन आह्वान गर्दै पोखरेलले प्रधानमन्त्रीले लीक बाहिर पुर्‍याएको संविधानलाई संसद पुनर्स्थापनामार्फत् सही बाटोमा ल्याएपछि मात्रै निर्वाचनमा जानुपर्ने औल्याउनुभयो ।

निर्वाचित नेतृत्वबाटै प्रजातन्त्रमाथि चुनौती आउने भविष्यवाणि सत्य हुँदै गएको भन्दै उहाँले संसद विघटनबाट मुलुक अँध्यारो सुरुङमा प्रवेश गरेकाले नेताहरुले राजनीतिक रुपमा अहिलेको समस्या समाधान गर्न सक्नेमा आशंका व्यक्त गर्नुभयो ।

संसद विघटनको मुद्दामा अदालतको निर्णय जसको पक्षमा आए पनि मुलुक र जनताको जीत नहुने प्रष्ट भएको भन्दै उहाँले हालै अमेरिकामा आफैले नियुक्त गरेको न्यायाधीशलेसमेत डोनल्ड ट्रम्पको नभई प्रजातन्त्र र विधिको पक्षमा निर्णय लिएको दृष्टान्त सम्झन न्यायाधीशहरुलाई आग्रह गर्नुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वप्रधानन्यायाधीश, राजनीतिक दलका नेता, विभिन्न क्षेत्रका बुद्धिजीवीहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।