२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


पुरानो पिँढीका नेतामा भिजन भएन, नेतृत्व छाडून्, युवालाई दिउन्–सुशीला कार्की


0
Shares

Shushila karki former chief justice

काठमाडौं, माघ ७ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुरानो पिँढीका नेतामा भिजन नभएको भन्दै नेतृत्व छाडेर युवालाई दिन आह्वान गर्नुभएको छ ।

काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गर्नुभएको हो ।

कोरोना महामारी, महँगी, बेराजगारी जस्ता समस्यामा मुलुक र जनता थिचिएका बेला बेतूकका विषयमा नेताहरु लडिरहेको भन्दै कार्कीले भन्नुभयो, ‘बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको तूतू ममको झगडामा अल्झेका छन् । तल्लो तहदेखि सँगै काम गरेकाहरुबीचमा सत्ता र शक्तिले गर्दा काटामारको अवस्था सृजना गराएको छ ।’

सानो संख्यामा रहेकाले चुनाव भन्दै अरुलाई ओठे जवाफ फर्काउँदै हिडेको, अरु दल किंकर्तव्यविमूढ बन्दै अदालतको मुख ताकेर बस्दा संकटले घेरेको उहाँको भनाइ थियो ।

फोकटको व्यक्तिगत इगोमा मुलुकलाई संकटमा फसाएको भन्दै पूर्वप्रधानन्यायाधीश कार्कीले प्रश्न गर्नुभयो, ‘व्यक्तिका अहं पूरा गर्नका लागि राष्ट्र र जनताको अर्बौ रकम स्वाहा बनाउने ?’

सरकार बनाउने विकल्प संसदसँग रहँदासम्म संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नै नदिएको भन्दै कार्कीले आफूसहित चार पूर्वप्रधानन्यायाधीशले संविधान हेरेर मात्र फैसला देउ भनेको प्रष्टीकरण दिनुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त, राजनीतिक दलका नेता, विभिन्न क्षेत्रका बुद्धिजीवीहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।