
(कपिलवस्तु, डडेल्धुरा र धनकुटा), माघ ७ । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बुधबार देशभर प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विघटनको कदम संविधान विरोधी र अलोकतान्त्रिक भएकोले सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने र पुनःस्थापना पछि ओली सरकारको आयु समाप्त हुने जसपाका नेताहरुको भनाइ छ ।
कपिलवस्तुमा आयोजित विरोध र्यालीलाई सम्बोधन गर्दै जसपा नेता राजेन्द्र श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएको बताउनुभयो ।
अग्रगामी परिवर्तनका पक्षधर शक्तिहरू मिलेर पूनः एकपटक संयुक्त आन्दोलनको आँधी बेहरी सृजना गर्नुपर्ने उहाँको भनाइ थियो ।
डडेल्धुरामा आयोजित विरोध प्रदर्शनमा सहभागिहरुले विघटन संविधान माथिको कू भएको बताएका छन् ।
सदरमुकामको मुख्य बजार क्षेत्र परिक्रमा पछि प्रदर्शन भिमदत्त चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरु विरोध र्यालीमा सहभागी भएका थिए ।
धनकुटामा पनि विघटनविरुद्ध जसपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस, नेकपा दाहाल–नेपाल समुह, नागरिक समाजका व्यक्तिहरुले संविधानको कुनै धाराले पनि प्रतिनिधि सभा विघटनको अधिकार सरकारलाई नदिएकोले न्यायपालिकाले असंवैधानिक कदमको पक्षमा नजाने विश्वास व्यक्ति गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्