
काठमाडौं, माघ ८ । अन्ततः जो बाइडन ३२ वर्ष अगाडी आफूले देखेको सपना पूरा गर्दै विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपति पद सम्हाल्न सफल हुनुभयो । त्यो पनि २८ वर्षपछि बहालवाला राष्ट्रपतिलाई दोस्रो कार्यकालका लागि ह्वाइट हाउस पुग्न बाटो छेक्दै ।
बाइडन निकै प्रतिष्पर्धी, लामो, विवादित बनेको निर्वाचन प्रक्रियामा रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुँदै देशको बागडोर सम्हाल्न सफल हुनुभएको हो ।
जो बाइडन यस्तो समयमा मुलुकको बागडोर सम्हाल्न पुग्नुभएको छ, जुन बेला समग्र अमेरिका विभाजित मानसिकतामा छ । श्वेत र अश्वेत अमेरिकीबीचको खाडल मात्र बढेको छैन, कोरोना महामारीले सन्त्रस्त बनाएको समाज र थलिएको अर्थतन्त्रलाई सम्हाल्नु छ ।

हार पचाउन नसकेका बहिर्गमित राष्ट्रपति ट्रम्पले आफ्ना अन्ध समर्थकलाई उचालेर अमेरिकी प्रजातन्त्रको मानक मानिने संसद भवनम गराएको हिंसात्मक आक्रमण अमेरिकी इतिहासकै सबैभन्दा लज्जित घटना हो ।
जसबाट अमेरिकीहरुमा पुगेको आघातको घाउ पुर्न बाइडन प्रशासनलाई निकै मिहिनेत गर्नुपर्नेछ । ट्रम्पको बहुलठ्ठीपूर्ण हठले विश्वभर अमेरिकी प्रजातन्त्रप्रति कालो पोतेको उक्त घटनाले पुर्याएको क्षति कम गर्न ७८ वर्षीय बाइडनको लामो राजनीतिक अनुभव भरपूर पूरा गर्नुपर्ने देखिन्छ ।
त्यसैले त, आप्रवासीहरुप्रति चार वर्षे ट्रम्प प्रशासनले मच्चाएको ताण्डवलाई शान्त पार्दै उनीहरुसमेतको विश्वासमा मुलुकलाई एक बनाएर अगाडी बढाउने नेतृत्व गर्ने जिम्मेवारी सात करोडभन्दा बढी अमेरिकीले ७८ वर्षीय बाइडनको काँधमा हालिदिएका छन् ।
ट्रम्पको कार्यकालमा विश्वस्तरमा खुम्चिएको अमेरिकी प्रभाव विस्तारदेखि बेरोजगार बनेका लाखौं अमेरिकन युवाको आशा उहाँमाथि नै आएर अडिएको छ । त्यसैले त मुलुक र जनताको नेतृत्व गर्दै ह्वाइट हाउसमा राष्ट्रपतिको कुर्सी सम्हाल्नेवित्तिकै पहिलो निर्णय नै मुलुक विभाजित गर्ने ट्रम्पका नीतिहरु निष्क्रिय पार्ने आदेश उहाँले जारी गरिसक्नुभएको छ ।

सन् १९४२ नोभेम्बर २० मा अमेरिकाको पेन्सिलभानियामा जन्मनुभएका जोशेफ रोबिनेट बाइडेनको लामो राजनीतिक यात्रा रहेको छ । तेस्रो पटकको प्रयासमा अमेरिकी राष्ट्रपति बन्दै ह्वाइट हाउस प्रवेशको ढोका खुलेको उहाँ, यसअघि सन् २००९ देखि २०१७ जुन २० सम्म आठ वर्ष बराक ओबामाको राष्ट्रपतिकालमा उपराष्ट्रपति रहनुभयो ।
सन् १९७२ मा तीसै वर्षको उमेरमा डेलावरबाट अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्नुभएका उहाँ उपराष्ट्रपति बनेर ह्वाइट हाउस नछिर्दासम्म लगातार ३६ वर्षसम्म त्यहाँबाट सिनेटमा प्रतिनिधित्व गरिरहनुभयो ।
राष्ट्रपतिको कार्यकाल सम्हाल्न पठाउँदै गर्दा राज्यद्वारा आयोजित कार्यक्रममा निकै भावुक बन्नुभएका बाइडनले डेलावरको माटो र जनताले लगाएको गुणको ऋण कहिल्यै तिर्न नसक्ने भन्दै भक्कानिनुभएको थियो ।

सन् १९७० बाट राजनीतिक जीवनको यात्रा शुरु गरी पाँच दशक अमेरिकी राजनीतिमा दीर्घ सेवा गर्नुभएका उहाँले ओबामा कार्यकालमा ४७ औं उपराष्ट्रपति बन्दा ८ वर्ष अमेरिकी संसदको माथिल्लो सदन सिनेटको अध्यक्षतासमेत गर्नुभयो ।
पहिलो पटक ह्वाइट हाउस छिर्न सन् १९८८ मा राष्ट्रपति निर्वाचनमा प्रत्याशीका रुपमा अभियान चलाए पनि बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछी उहाँ अभियानबाट बाहिरिनु भयो । निकै राम्रो भाषण कलामा चर्चित उहाँ त्यसपछि लामो समय चूप रहनुभयो ।
दोस्रो पटक २००८ मा राष्ट्रपति बन्ने मनसायका साथ पार्टीको उम्मेदवार छानिन मैदानमा उत्रिए पनि पार्टीको उम्मेदवार चुनिने निर्वाचनमै उहाँ तत्कालीक उच्चप्रभावी प्रतिष्पर्धी बराक ओबामा र हिलरी क्लिन्टनसँग टिक्नसक्नु भएन ।
यथेष्ट चुनावी खर्च जुटाउन र समर्थकको भीड जम्मा पार्न पनि नसकेपछि उहाँ मैदानबाट बाहिरिनुभयो । तर त्यो उम्मेदवारी फिर्ताले उहाँलाई ओबामासँगै ८ वर्ष ह्वाइटहाउसमा रहेर काम गर्ने अवसर दिलाइदियो । र ४६ औं राष्ट्रपतिका लागि मार्ग प्रशस्त बनाइदियो ।

सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्षसमेत रहेर प्रखर अमेरिकी राजनीतिज्ञको छबी बनाउनु भएका बाइडन सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा उभिनुभएको थियो । तर सन् २००३ को इराक अतिक्रमणको भने समर्थन गर्नुभयो । आतंकवादका विपक्षमा उभिनुहुने उहाँ इराकमा अमेरिकी संलग्नताको आलोचक पनि रहनुभयो ।
आतंकवादी समूह अलकायदाका नाइके ओसामा बिन लादेनलाई मार्नेभन्दा सम्झौता गर्न उहाँले तत्कालीक राष्ट्रपति ओबामालाई सुझाउनुभएको थियो । प्रखर वक्ता भएर पनि सामान्य नागरिकसँग निकै सहज घुलमिल हुने शैलीले उहाँलाई आममानिसले आफ्नै ठान्न सहज बनाइदियो ।
यही छवीकै कारण चुनावी अभियानमा मजदुर र कामदार वर्गलाई जुटाएको र मत तान्नुभएको बताइन्छ । पत्नी र छोरीलाई कार दुर्घटनामा गुमाउनुको वियोग खप्नुभएका उहाँले सोही दुर्घटनामा घाइते अर्का एक छोरालाई भने ब्रेन ट्युमरका कारण गुमाउनु पर्यो । पहिली पत्नी नेलिया हन्टरको मृत्यपछी उहाँले जिलसँग दोश्रो विवाह गर्नुभयो ।
अमेरिकाको डेलावयरबाट उच्च शिक्षा हासिल गर्नु भएका बाइडेन राजनीति शास्त्र र कानूनका विद्यार्थी रहनुभएको थियो । उहाँले सन् १९७१ मा अमेरिकाका विल्मिङटनको ल फर्म समेत सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्