२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भुक्तानीका लागि अझैपनि पर्ख र हेरको अवस्थामा सर्लाहीका उखु किसान


0
Shares

प्रकाश मैनाली (इमेज)
सर्लाही, माघ ८ । सर्लाहीका किसान उखुको भुक्तानीका लागि अझै पनि पर्ख र हेरको अवस्थामा रहेका छन् ।

सरकार र उखु किसानबिच भएको सम्झौतामा किसानलाई २१ दिन भित्र पैसा उपलब्ध गराउने सहमती भएपनि किसानले अझै पुरै भुक्तानी पाउन सकेका छैनन् ।

सर्लाहीमा संचालित दुई मिलबाट अघिल्लो वर्ष सम्मको भुक्तानी किसानको हातमा परेको भएपनी किसानले अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने भुक्तानी अझै पाएका छैनन् ।

वर्ष दिन लगाएर उत्पादन पछि बेचेको बालिको पैसा नपाउँदा यहाँका किसानको देनिकी कष्टकर बन्दै गएको छ ।

किसानले वषैपिच्छे भुक्तानी भाका पाउने तर पैसा नपाउने सास्ती भोग्दै आएका छन् ।

यस वर्षपनि सर्लाही सहित देशका बिभिन्न जिल्लाका किसानले काठमान्डौँ गएर आन्दोलन गरेका थिए ।

आन्दोलनकै क्रममा किसानले ज्यान समेत गुमाएपनि रकम भने पाउन सकेका छैनन् ।

पैसा नपाए फेरि आन्दोलनमा जाने तयारी गरिएको भुक्तानीका लागि सम्झौता गर्न सहभागि सर्लाहीका उखु किसान नेता तथा संबिधान सभा सदस्य हरि उप्रेती बताउनुहुन्छ ।

पछिल्लो समय उद्योगी र सरकारबिच एक अर्कालाई दोष देखाउँदै किसानको भुक्तानीमा आनाकानी गर्नाले किसान भने अन्यौलमा परेका छन् ।

यस्तो अवस्थामा कुनै मिललाई बन्द गर भनेर सरकारलाई भन्न नसकिने तर मिलले भुक्तानी गुर्नपर्ने नेपाल चिनी उत्पादक संघका महासचिव राजेश केडियाको भनाई छ ।

अन्नपूर्ण चिनी उद्योगको गोदाममा चिनी सकिएको र अन्नपूर्णका सञ्चालक अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यसले गर्दा किसानले बाँकी भुक्तानी कसरी पाउलान् भन्नेमा झन अन्यौल छाएको छ ।

समयमै भुक्तानी नगरेकै कारण दुई वर्ष देखि मिल समेत संचालनमा आउन सकेको छैन ।