
सप्तरी, माघ ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त गर्ने लडाईमा आफुहरु लागेको बताउनुभएको छ ।
सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्र र संघीयतामाथिनै प्रहार भएकाले यसको रक्षा गर्न अघि बढेको बताउनुभयो ।
लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको उहाँले आरोप लगाउनुभयो ।
प्रतिनिधिसभा पुर्नस्थापनानै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै महतोले अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफुहरु आशावादी रहेको बताउनुभयो ।
सम्मानित अदालतबाट आउने फैसला आफुहरुलाई मान्य हुने बताउँदै उहाँले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने प्रतिक्रिया दिनुभएको छ ।
अर्को प्रसंगमा उहाँले नेपाल–भारतबीच सदियौंदेखि बेटीरोटीको सम्वन्ध रहँदैआएकोमा वर्तमान सरकारले सिमामा आवागमनमा रोक लगाएर उक्त सम्वन्धमा समेत तिक्तता ल्याउने कार्य गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्