
काठमाडौं, माघ ९ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले रोयल्टी सिस्टमलाई व्यवस्थित गरिने बताउनु भएको छ ।
नेपाली सांगीतिक आकाशकी स्वर किन्नरी तारा देवीको १५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरले सो कुरा बताउनु भएको हो ।
रोयल्टीको सिस्टमलाई व्यवस्थित गर्नु नै स्रष्टाहरूको ठूलो सम्मान भएको बताउँदै उहाँले अब सरकारले समाजसँग सहकार्य गरेर रोयल्टी संकलनलाई व्यवस्थित बनाउने दाबी गर्नुभयो ।
कार्यक्रममा रचनाकार भैरवनाथ रिमाल कदम पुरस्कारबाट संगीतकार गणेश परियार मराणोपरान्त तथा गायिका ज्ञानु राणालाई नगद २५ हजार १ रुपैयाँ तथा ताम्रपत्रसहित सम्मान गरिएको छ ।
कार्यक्रममा बहालवाला मन्त्री भै एकल कन्सर्ट गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका सहरी विकास राज्यमन्त्री मानन्धर र तारादेवी फाउण्डेशनका अध्यक्ष दीपक केसीलाई पनि प्रसंशा पत्र प्रदान गरिएको थियो ।
नेपाली संगीतिक क्षेत्रमा ३४ सयभन्दा बढी गीतमा आवाज दिएर महत्वपूर्ण योगदान पुर्याउनुभएकी तारादेवीको २०६२ माघ ९ गते निधन भएको थियो ।
उहाँको आवाजमा शुभकामना भरी, उकाली ओरालीहरूमा, कालीपारी दाई कति राम्रो, सोचेजस्तो हुन्न जीवन, फूलको थुँगा बगेर गयो लगायतका कालजयी गीतहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्