
काठमाडौं, माघ ११ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनावले झन् दुर्घटना गराउने तर्क गर्नुभएको छ ।
जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहनुभएका भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिगमनले संविधानरुपी लोकमार्गमा ठूलो पहिरो ल्याएको र पहिरो नपन्छाई गरिने चुनावले दुर्घटनामात्र गराउने तर्क गर्नुभएको हो ।
निर्वाचनका पछि दौडनेहरुलाई २०१७ मा राजा महेन्द्रले गरेको कू को समर्थन गर्ने तुलसी गिरी र केशरजंग रायमाझीसँग भट्टराईले तुलना पनि गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा भट्टराई लेख्नुहुन्छ, ‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ । पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ ।’
प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओलीले २०७८ सालको वैशाख १७ र २७ मा निर्वाचन घोषणा गरेपछि केही दल अनिर्णयको बन्दी बनेका छन् ।
खासगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा देखिएको दुबिधाप्रति नेता भट्टराईले व्यंग्य गर्दै भन्नुभएको छ, ‘२०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौं । २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं !’
प्रतिक्रिया दिनुहोस्