
प्रकाश मैनाली (इमेज)
सर्लाही, माघ ११ । सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन ।
अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उखु उत्पादक किसानको बक्यौता दिनका लागि रोक्का गरेको खातामा रकम भए पनि अग्रवाल सम्पर्कमा नरहेका कारण भुक्तानी हुन नसकेको प्रजिअ पौडेलले बताउनुभयो ।
उद्योगले दिएको जानकारी अनुसार उखु उत्पादक किसानको करिव १७ करोड पुरानो बक्यौता मिलले तिर्न बाँकी रहेको थियो ।
यसैबीचमा ११ करोड १६ लाख उद्योगले किसानलाई भुक्तानीसमेत गरिसकेको छ ।
अहिले पनि उद्योगपति अग्रवालको बैँक खातामा १ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
अग्रवाल सम्पर्कविहीन हुँदा किसानले पैसा पाएनौं भन्दै गुनासो गरिरहेका छन् ।
उद्योगपति सम्पर्कमा नआउने अनि किसान दिनहुँजसो भुक्तानी पाएनौं भन्दै प्रशासन कार्यालय घेराउ गर्न आउने गतिविधिले आफू निकै अफ्ठ्यारोमा परेको प्रजिअ पौडेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्