२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग


0
Shares

काठमाडौं, माघ ११ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गर्नुभएको छ ।

भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले विभागले गरेको उक्त सर्वेक्षणमा आफूले पनि सहभागिता जनाउन पाएको तर अहले सम्म प्रतिवेदन हेर्न नपाएको गुनासो गर्नुभएको हो ।

यस्तै भन्सारबाट छुटेको सामान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेको गुनासो पनि अध्यक्ष गोल्छाले गर्नुभयो ।

यसबाट व्यापारिहरु त्रसित हुने मात्र नभई व्यवसायिक विकृति समेत उत्पन्न हुने खतरा बढेको बताउनुभयो ।

भन्सार मूल्याङ्कन र वर्गिकरण यथार्थपुरक हुनुपर्नेमा समेत अध्यक्ष गोल्छाले जोड दिनुभयो ।

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीेले सरकार व्यवहारिक रुपमा निजी क्षेत्र मैत्रि रहेको दाबी गर्नुभयो ।

निजी क्षेत्रको समस्या सरकारले नसुनिकन र निजी क्षेत्रको आवस्यकता अनुसार कानूनहरु संसोधन नभएसम्म आर्थिक विकासका गतिविधि बढ्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उद्योगी व्यवसायीहले भन्सार सम्बन्धमा भएका विवाद समाधान गर्न संयन्त्र निर्माण गर्न माग गरेका छन् ।

सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले निजी क्षेत्रको विकास विना मुलुकमा आर्थिक विकास सम्भव नभएको पनि उद्योगी व्यवसायीहरुले बताएका छन् ।