
काठमाडौं, माघ १२ । नेकपा दाहाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै काठमाडौंमा वृहत प्रदर्शन गर्ने घोषणा गरेको छ ।
सोमबार संघर्ष समितिले पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना र १६ गते जुलुससहित शहीदप्रति श्रद्धाञ्जली दिइने छ ।
यसैगरी, २२ गते काठमाडौंमा युवा र्याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरिने जनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीको एकलौटी शैलीले पार्टी चल्न नसक्ने भन्दै पुष्पकमल दाहाल–माधव नेपाल समूह प्रतिरोधमा रहेकै समयमा ओलीले प्रतिनिधि सभा विघटन गरिदिएपछि नेकपा दुई गूटमा विभक्त भएको छ ।
एकाले अर्कालाई कार्वाही गरेको भन्दै पार्टीको मूल नेतृत्व आफै रहेको दाबी गरिरहेका समयमा निर्वाचन आयोगले दुई समूहलाई अलग पार्टीको मान्यता दिन नसकिने निर्णय गरिदिएको छ ।
यस्तोमा कुन समूह अलग पार्टीका रुपमा निर्वाचन आयोगमा जाने भन्ने प्रश्न उब्जिएको छ । निर्वाचन आयोगको निर्णयबाट ओली समूह उत्साहित देखिएको छ भने दाहाल समूह निराश देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्