
काठमाडौं, माघ १४ । आफ्ना छोराका हत्यारालाई कार्वाही गरी आफूलाई न्याय दिन आमरण अनशनरत गङ्गामाया अधिकारीसँग अनशनको ३८ दिनपछि बल्ल सरकारका सचिवहरुले भेट गर्नुभएको छ ।
सरकारका गृहसचिव र कानुन सचिव गंगामायाले अनशन थालेको ३८ दिनका दिन अनशनस्थल वीर अस्पतालको ट्रमा सेन्टर पुग्नुभएको हो ।
आफ्ना छोराका हत्यारालाई कार्वाही गर्न माग गर्दै सत्याग्रहमा रहेकी एक न्याय याचिकाको स्वास्थ्य अवस्थासम्म बुझ्न जान पनि सिंहदरबारबाट मुस्किलले पाँच सय मिटरको दूरीमा रहेका अनशनस्थल पुग्न सरकारी प्रतिनिधिहरुलाई ३८ दिन लागेको हो ।
गृह सचिव ऋषि राजभण्डारी र कानुन सचिव महेश्वर न्यौपानसँगै नेपाल प्रहरीका महानिरीक्षक शैलेष थापा पनि गंगामायाको स्वास्थ्य अवस्था बुझ्न पुग्नुभएको थियो ।
करिब एक घण्टा भएको भेटमा सचिवद्वयले आमरण अनशनरत गंगामाया अधिकारीलाई आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै औषधी उपचार शुरु गर्न आग्रह गर्नुभएको थियो ।
अधिकारीलाई न्याय दिलाउन सभाउने आश्वासन पनि तीनै जनाले दिनुभएको थियो ।
२०६१ साल जेठ २४ मा माओवादीद्वारा हत्या गरिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाहीको माग गर्दै गंगामायाले पटक पटक अनशन गरिरहनुभएको छ । यो उहाँको बाह्रौं अनशन हो ।
पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनशनमा रहनुभएकी अधिकारीको स्वास्थ्य अवस्था भने अत्यन्तै नाजूक भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्