
जिल्ला व्युरो, माघ १४ । सातै प्रदेशमा बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाउनु सुरु गरिएको छ ।
दुई चरणमा लगाइने खोपअन्तर्गत बुधबार खोपको पहिलो डोज लगाइएको हो ।
कोशी कोभिड अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र वरिष्ठ कन्सल्टेन्ट फिजिसिएन डाक्टर दिपक सिग्देललाई खोप लगाएर प्रदेश–१ आठ जिल्लामा अभियानको सुरुवात गरिएको छ ।
डाक्टर सिग्देलले खोप लगाउँदा कोरोनाबाट सुरक्षित भइने बताउँदै अनावश्यकह हल्ला र अफवाहको पछि नलाग्न आग्रह गर्नुभयो ।
प्रदेश–१ मा ३५ हजार ५ सय ७६ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार खोपको दोस्रो डोज दश दिनभित्र लगाइने छ ।
त्यसैगरी बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले खोप अभियान सुरु गर्नुभयो ।
हेटौडा अस्पतालका चिकित्सक ड़ा.प्रबिण श्रेष्ठलाई पहिलो खोप दिइएको थियो ।
त्यसक्रममा मुख्यमन्त्री पौडेलले खोप अभियानका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोगमा सहजीकरण गर्ने बताउनुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा.बुद्धिबहादुर थापालाई खोप लगाएर गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोपको शुभारम्भ गरिएको छ ।
डा. थापाले खोप सुरक्षित भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो ।
डा. थापालाई खोप लगाएपछि प्रदेशका सबै ११ वटै जिल्लामा पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्