
काठमाडौं, माघ १५ । दाहाल नेकपा समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री केपी ओलीले चाल्न सक्ने कुनैपनि खाले तानाशाही कदमको प्रतिरोधमा उत्रन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टीको केन्द्रीय संघर्ष समिति सचिवालयको बिहिबार बसेको बैठकमा अध्यक्षद्वयले चनाखो रहन सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
यसैगरी दाहाल–नेपाल समूहले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयविरुद्ध आउँदो माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल जनप्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिगमनका विरुद्धमा देशव्यापी आन्दोलनले जनतामा जागरण पैदा गरेको ठहर गर्दै आन्दोलनलाई अझ सशक्त बनाइनुपर्ने निचोड निकालिएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले आन्दोलनमा समर्थन गर्ने सबैमा धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षा गरेरै छाडिने प्रतिवद्धता जनाउनुभएको थियो ।
आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र त्यही कमिटीलाई निर्वाचन आयोगले पठाएको पत्रमा पनि उल्लेख गरेकाले पार्टी आफ्नै पोल्टामा आउनेमा दुविधा पाल्नु नपर्ने नेताद्वयको भनाइ थियो ।
प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरी आउँदो वर्षको वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि त्यसको विरोधमा देशका सबैजसो दलले आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्