
काठमाडौं, माघ १५ । नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आफ्नो ५ औं साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभा उद्घाटन गर्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले सम्पूर्ण पत्रकारहरुको छाता संगठन महासंघ पत्रकारहरुको मात्र नभई लोकतन्त्र र नागरिकको पहिलो अगुवा संगठन भएको बताउनुभयो ।
उहाँले श्रमजीवी पत्रकारका समस्या समाधानका लागि महासंघ अहोरात्र खटिएको भन्दै पत्रकारका हकहितका लागि जस्तोजुकै परिस्थिति आएपनि पछि नहट्ने दृढता व्यक्त गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै मिडिया एलायन्सका महासचिव एंव इमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाँईले कोभिड–१९ महामारीका कारण नेपालको सञ्चार जगतले कल्पना नगरेको क्षति ब्यहोरेको भन्दै अब विस्तारै यस क्षेत्रमा परेको असर समाधानउन्मुख दिशामा जान थालेको बताउनुभयो ।
उहाँले सञ्चार क्षेत्र सुधारका लागि एकीकृत प्रयासको खाँचो औंल्याउनुभयो ।
पत्रकार महासंघका महासचिव रमेश विष्टले कुनै पनि बहानामा श्रमजिवी पत्रकारमाथि हुने कुनै पनि किसिमका अन्याय सहन नसकिने बताउनुभयो ।
सभामा प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले कोभिडको महामारी देखाएर श्रमजिवी पत्रकारहरुको रोजीरोटी खोस्ने काम अहिले पनि जारी रहेको भन्दै यस्ता काम तत्काल बन्द हुनुपर्ने बताउनुभयो ।
साधारणसभाले नयाँ सदस्यता, नवीकरण लगायत प्रतिष्ठानमा कार्यरत कर्मचारीका समस्या समाधानका लागि विभिन्न निर्णय पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्