
काठमाडौं, माघ १६ । सरकारले चालु आर्थिक वर्षमा करिब ५ प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ ।
अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले चालु आर्थिक वर्षमा ५ प्रतिशत सम्म आर्थिक वृद्धिदर हुने सम्भावना रहेको बताउनुभएको हो ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा अर्थमन्त्रालयका सचिव ढुंगनाले यस्तो बताउनुभएको हो ।
यो आर्थिक वर्षको ६ महिनामा आर्थिक गतिविधि विस्तारित हुँदै गएको र राजस्व संकलनको स्थिति पनि गत वर्षकै लयमा फर्किएकाले अवको आर्थिक वृद्धिदर करिब ५ प्रतिशत हुन सक्ने देखिएको उहाँले बताउनुभयो ।
सरकारले यसवर्षको बजेट मार्फत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो ।
आर्थिक वृद्धिमा आएको कमिका कारण गरिबी निवारणमा सरकारले राखेको लक्ष्य भने प्रभावित हुने देखिएको छ ।
१२ लाख भन्दा बढी घरपरिवार गरिबीको रेखामुनी पर्न सक्ने सम्भावना अर्थमन्त्रालयले गरेको अध्ययनमा देखिएको पनि सचिव ढुंगानाले बताउनुभयो ।
आर्थिक गतिविधि कमजोर भएको अवस्थामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा असर पर्ने देखिएको उहाँको भनाई छ ।
यसबाहेक मानिसको जीवनस्तर केही महँगो हुनसक्ने सम्भावना रहेको पनि बताउनुभयो ।
दिगो विकासको लक्ष्य प्राप्तिका लागि रोजगारी सिर्जना हुनेगरी उद्योग मन्त्रालय, गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र साना किसान लघुवित्त मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिराखेको सचिव ढुंगानाले बताउनुभयो ।
यस्तै सहुलियतपूर्ण कर्जालाई बैंकका प्रत्येक शाखाबाट परिचालन गर्ने व्यवस्था मिलाइएको पनि बताउनुभयो ।
कोभिडबाट प्रभावित क्षेत्रमा ७७ अर्ब भन्दा बढी पुनरकर्जा परिचालन भइसकेको समेत बताउनुभयो ।
यसबाट विस्तारै सबै क्षेत्र पुरानै लयमा फर्किने पनि बताउनुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोभिड अगाडि गरिबी निवारणको सन्दर्भमा ठिक दिशामा काम रहेको तर कोभिडका कारण असर परेको बताउनुभयो ।
१५ औं योजनामा बहुहायामिक गरिबी ३८ दशमलव ६ बाट ११ दशमलव ५ मा झार्ने र मौद्रिक गरिबी १८ दशमलव ६ बाट ९ दशमलव ५ मा झार्ने लक्ष्य लिएको तर अहिले प्रभावित भएको बताउनुभयो ।
कृषि र शिक्षा क्षेत्रमा लक्ष्य अनुसार प्रगति हुन नसकेपनि स्वास्थ्य क्षेत्रमा धेरै नै सुधार भएको बताउनुभयो ।
यस्तै कोभिडको असर विस्तारै सामान्य अवस्था तर्फ फर्केकाले यस वर्ष करिब ५ प्रतिशतको आर्थिक वृद्धिदर हुन सक्ने देखिएको उपाध्यक्ष कँडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्