१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली कांग्रेस व्यापारी पार्टी होइन, फाइदा हेरेर निर्णय गर्ने– अर्जुननरसिंह केसी


0
Shares

congrss arjun narashing kc

काठमाडौं, माघ १६ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस फाइदा हेरेर मात्र निर्णय गर्ने व्यापारी पार्टी नभएको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा न्यायका लागि मानवअधिकार सञ्जालले संवैधानिक संकट र मानवअधिकारका सन्दर्भमा गरेको कार्यक्रमा नेता केसीले प्रतिनिधि सभा विघटनबाट फाइदा होला भनेर कांग्रेस दोबाटो ढुकेर नबस्ने प्रष्ट गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनलाई कांग्रेसले असंवैधानिक करार गरिसकेको र त्यसका विरुद्धमा देशव्यापी आन्दोलनमा रहेकाले कांग्रेस फाइदा होला भनेर निर्वाचनको पक्षमा नलागेको केसीको प्रष्टोक्ति थियो ।

मुलुकमा संविधान च्यातिसक्दा पनि कांग्रेस नेतृत्वले ढुलमुले चरित्र देखाएको भन्दै वक्ताहरुले प्रश्न उठाएपछि नेता केसीले कहिँ कतै कुनै व्यक्तिले चुनावबाट फाइदा हुने आशय व्यक्त गरे पनि पार्टीको आधिकारिक धारणा संसद विघटन असंवैधानिक हो भन्ने नै रहेको उहाँको भनाइ थियो ।

नेकपाका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएकाले पार्टी दुई चिरामा विभक्त भएको भन्दै यस कदमले संविधानको चीरहरण भएको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक कपिल श्रेष्ठले संविधान च्यातिँदा नागरिक चूप रहन नसक्ने भन्दै सबैले एक पटक फेरि सडकमा उत्रनुपर्ने बेला आएको बताउनुभयो ।

सामाजिक अभियन्ता डा. गोविन्द केसीले केपी ओली लोकतान्त्रिक हुँदै होइनन् भन्दै अधिनायकवादी सोच भएकै कारण उनले संसद विघटनमार्फत् संविधान च्यातेको बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मानवअधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्य, अधिवक्ता ओम अर्याल, अधिकारकर्मी भक्त विश्वकर्मा, सञ्जालका अध्यक्ष इन्द्र अर्याल, पत्रकार राजन कुईंकेल, गोपाल खनाललगायतले प्रतिनिधि सभा विघटनपछिको अवस्था र उत्पन्न परिस्थितिबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।