१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दरबार हाइस्कुलमा पठनपाठन सुरु


0
Shares

काठमाडौं, माघ १८ । दरबार हाइस्कुलमा आइतबारदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ ।

भूकम्प गएको ५ वर्षपछि आइतबारदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु गरिएको हो ।

गोरखा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन ।

नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन वि.स. २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण सकिए पनि नौ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो ।

कारोनाका कारण लामो समय यस विद्यालयमा अनलाइनको माध्यमबाट पठनपाठन हुँदै आएको थियो ।

एक हप्ताअघि नै काठमाडौं महानगरपालिकाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आइतबारदेखि विद्यालय सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले छ र यसमा ६० वटा कक्षा कोठा रहेका छन् ।

नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र साँस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको यस ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

८५ करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचना चीन सरकारले सहयोग गरेको हो ।