
राजन कुईंकेल ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका नेताहरुले आफूलाई काम गर्न नदिएको तर्क र आरोप लगाउँदै पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभयो । जनताका सार्वभौम प्रतिनिधिहरु रहने थलो प्रतिनिधि सभाको हत्या गर्न एकाएक गरिएको सिफारिशलाई किञ्चित समय नलगाई नेकपा पार्टीकै तर्फबाट राष्ट्रपति बनाइनुभएका विद्या भण्डारीले सदर गरिदिनुभयो । त्यस यताको डेढ महिना नेपाली राजनीति धुव्रीकृत भएको छ ।
मूलतः प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको पक्षमा उहाँ स्वयं र उहाँका समर्थक केही नेता, कार्यकर्ता राजनीतिक मैदानमा उत्रिँदा यस कदमको विपक्षमा नेकपाकै अर्को खेमा पुष्पकमल दाहाल–माधव नेपाल पक्षधर उभिएका छन् । राजनीतिक रुपमा खुलेर ओलीको कदममा अरु कुनै दलले पनि साथ दिएका छैनन् । सबैले पुस ५ को ओलीको कदमलाई असंवैधानिक नै करार गरेका छन् तर निर्वाचन हुँदा दलीय फाइदा हुनसक्ने देखेका दलहरुले विरोधको गरम शैली देखाएका पनि छैनन् ।
यहिँ निहुँमा नेकपाभित्र ओली र दाहाल पक्षले एकले अर्कालाई पार्टीबाट निष्काशन गर्नेसम्मको काम गरिसकेका छन् । ओलीले दाहालको कार्यकारी अधिकार खोस्दा दाहालले ओलीलाई अध्यक्षबाटै हटाएर अर्का नेता माधव नेपाललाई अध्यक्षमा पदस्थापन गर्नुभएको छ । दाहाल खेमाले त ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्दिएका छन् । साविक नेकपाको संरचनाहरुमा दाहाल–नेपाल पक्षको बहुमत भएपछि त्यसलाई कमजोर बनाउन ओलीले आफ्नो नेतृत्वको केन्द्रीय कमिटीलाई १५ सयभन्दा बढीको आकारमा विस्तार गर्नुभएको छ । यद्यपि, दुबै पक्ष पार्टी फूटको जिम्मा लिन तयार छैन । तर निर्वाचन आयोगले दुबै पक्षले पेश गरेको विवरणलाई मान्यता दिन नसक्ने र आयोगमा पेश गरिएका कागजपत्रले नेकपा विभाजित भएको नदेखिने भन्दै जवाफ पठाइदिएको छ । एकार्काप्रति सत्तोश्राप गर्दा पनि ओली र दाहालले अझै अलग दल निर्वाचन आयोगमा लैजानुभएको छैन ।
ओली–भण्डारीको कदमको राजनीतिक बहस चलिरहँदा प्रतिनिधि सभा विघटनविरुद्ध उता, सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । विघटन गर्न पाइने र नपाइने पक्षमा सर्वोच्चको संवैधानिक इजलाशमा दैनिक आ–आफ्ना पक्षका वकीलहरुले तर्क दिइरहेका छन् । संविधानतः बहुमतका प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नरहेको जिकीर गरिरहँदा सर्वोच्चमा पुगेको उक्त मुद्दाले ओली कदम असंवैधानिक हो भनेर आन्दोलनलाई चर्काइहाल्न मन नभएका दल र तिनका नेतालाई यो एउटा रक्षाकवच पनि बनिदिएको छ ।
मुख्यगरी विघटित संसदमा प्रमुख प्रतिपक्षी रहेको नेपाली कांग्रेसले अवलम्बन गरिरहेको नीतिप्रति आममानिसको संशयपूर्ण आशंका छ । कांग्रेसले ओली कदमलाई असंवैधानिक भन्दै देशभर आफ्ना कार्यकर्ता त परिचालन गरिरहेको छ तर सँगै अदालतले प्रतिनिधि सभा विघटन सदर गरेमा निर्वाचनमा सहभागि हुने भन्दै रामशाहपथतिर ओलीको कदमलाई सदर गरे विरोध नहुने आशयको हरियो झण्डी हल्लाइदिएको छ । कांग्रेसमा संसद विघटनलाई हेर्ने विषयमा पनि एकमत छैन । पार्टी सभापति शेरबहादुर देउवा ओली कदमलाई असंवैधानिक त भन्दै हुनुहुन्छ तर, सँगै अदालतले विघटन सदर गरे कांग्रेस निर्वाचनमा जान्छ भन्दै सर्वोच्चमा विघटनका पक्षधरहरुलाई उत्साह बढाइदिइरहनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका अरु नेता भने ओलीको कदम असंवैधानिक मात्र नभई संविधान नै च्यात्ने दुःसाहस भएकाले कडा र बलियो प्रतिरोध आवश्यक पर्ने बताउँछन् ।
उता, मधेश केन्द्रित जनता समाजवादी पार्टीमा पनि ओलीको कदमलाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन देखिन थालेको छ । पार्टी बन्नुअघिको समीकरणीय ढंगले विचार बन्दै छ । पूर्व राजपा र समाजवादी पार्टीका नेताहरुबीच ओली कदमलाई हेर्ने दृष्टिकोण फरक देखिन थालेको हो । राप्रपाले भने निर्वाचनमा जाने ओली कदमको स्वागत गर्दै संसद विघटनलाई असंवैधानिक भनेको छ ।
नागरिकस्तरबाट ओली कदमलाई संवैधानिक करार गरिएको छ भने विभिन्न संघठनहरु आ–आफ्नै ढंगले सडकमा उत्रिएका छन् । राजनीतिक ध्रुवीकरणको विषय सडक र सर्वोच्चको इजलाशसम्ममा देखिँदा सडकमा दुई नेकपाका नेताहरुको चर्तिकला भने दयालाग्दो छ । वर्तमान प्रधानमन्त्री केपी ओलीदेखि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र उहाँहरुबाट दीक्षित नेता–कार्यकर्ता जुन तहमा ओर्लिएर एकार्काप्रति सत्तोसराप गरिरहनुभएको छ, त्यो देख्दा भने हामीले नेता भनेकाहरुको हैसियत र स्तर कस्तो रहेछ भन्ने प्रश्नले मन घोचिरहन्छ ।
जीवनको उत्तरार्धमा पुगेका, आफूलाई लोभ, मोह, आशक्तिभन्दा पर अध्यात्म वा इच्छानुकूलको चिन्तनमा लीन गर्दै नातिनातिना र तिसरहकालाई सही बाटो देखाउनुपर्ने नेताका मुखबाट निस्केका दूष्छर वाणी सुन्दा कान टाल्नुपर्ने अवस्था छ । सँगै बस्दा चाटाचाट गर्ने नेताहरु बेमेल हुनेबित्तिकै कुन हदसक्म गिर्न र झर्न सक्दारहेछन् भन्ने नेकपाभित्रको रडाकोले देखाएको छ ।
दशकौं दशकसम्म एउटै अभियानका लागि सँगसँगै बसेका उनीहरु अहिले एकले अर्काको खराबी र दोष ओकल्नमै व्यस्त छन् ।
यिनका गाली वर्षा साना साना नानीहरुले नसुनिदिउन् भनेर घर घरमा टीभी र रेडियो बन्द गर्नुपर्ने अवस्थासम्म आएको छ । परिवर्तनका लागि आधा दशकभन्दा बढी समय सँगै बिताएको दाबी गर्नेहरु अहिले एकले अर्कालाई मरिहाले हुन्थ्योसम्म भन्न थालेका छन् । प्रधानमन्त्री ओलीले एक कार्यक्रममा दाहाल–नेपाललाई ‘मरेको भए शहीद भन्न हुन्थ्यो’ सम्म भन्न भ्याउनुभयो । अर्कातिर दाहाल–नेपालले पनि ओलीलाई भगौडा, बयलगाढे, प्रतिगनकारी, हत्यारा जस्ता आरोपले विभूषित गर्नभएको छ ।
त्यही मारमा राष्ट्रपति विद्या भण्डारसमेत चेपिनुभएको छ । उहाँलाई प्रधानमन्त्री ओलीसँग जोडेर अनर्गल प्रचारहरुसमेत गरिएका छन् । एकले अर्कालाई विदेशीको एजेन्ट त सहजै भनिरहेका छन् । दुबैले अर्कालाई दलाल र गद्दारको विशेषणले सम्बोधन गरिरहेका छन् । पार्टी एक बनाउँदा आँटिला र हिम्मदार भनेर प्रशंसित दाहाललाई यतिबेला प्रधानमन्त्री ओली र अनुयायीहरु सत्र हजारका हत्यारा भन्दैछन् । दाहालले ओलीलाई दलाल र माफियाको संरक्षक करार गर्नुभएको छ । हजारौं नागरिकको हत्या गर्न साथ दिने रामबहादुर थापालाई दलाल र गद्दारको उपाधिले सम्बोधन गर्नुभएको छ । यस्ता अनेकन पदावली दुई नेकपाका अध्यक्ष, शीर्ष नेतादेखि कार्यकर्ताले प्रयोग गरेका छन् कि कतिपय त सभ्य समाजमा सञ्चार गर्न पनि सकिन्न ।
सत्ता र शक्तिमा एकलौटी गर्न पाउँदासम्म चियाको झिँगो मिल्काएझै मिल्काइएका निर्दोष हत्याका परिवाजन, वेपत्ता, पूर्व लडाकू, घाइते, अंगभंग भएका, लूटिएका पीडितहरुको अहिले दुबै पक्षलाई होनाहार माया जागेर आएको छ । पीडितको मुद्दा सल्टाउने आफै मात्र भएको भन्दै हरियो घाँसको मूठो बोकेर हिंडिरहेका छन् ।
बालुवाटारबाट धुम्बाराही र सिंहदरबार पुग्न ‘सुरक्षा थ्रेट’ महशूस गर्दै बालुवाटारबाट शासन चलाउनुहुने प्रधानमन्त्री ओली अहिले कुनै २४ वर्षे पठ्ठोभन्दा कम जोश र उत्साहमा हुुनुहुन्न । देशको दूरदराज पुगेर घण्टौं सत्तोसराप गर्न उहाँमा यस्तो उर्जा भरिएको छ कि त्यो देख्दा आमनागरिकले भने धिक्कार्नुपर्ने अवस्था छ । जुन देशको प्रधानमन्त्रीलाई देश र जनताको समस्यामा केन्द्रित भएर शासन गर्नभन्दा आफ्नै गुँडका साथिहरुलाई धारे हात लगाउँदै समय बिताउन पाउँदा आनन्द लाग्छ । उनका अगाडी जम्मा पारिएका गुलामहरुको भीडको तालीको गड्गडाहट सुन्न मन लाग्छ । उस्तै छ, अर्कातिरका कामरेडी शैली, बेलायती जेल कपालमा दलेर, पेरिसको अत्तर कमिजमा छर्केर, आमजनता दौडनुपर्ने सडक बीचमा मञ्च ठड्याएर, काउच सोफामा अढेसिँदै गाली पुराण सुनाउँदाको आनन्द !
दूर्भाग्य, यिनै नेताको पछि लागेर दशकौं दशकसम्म पनि रैतीबाट माथि उठ्न नसकी गरीबीले डसेको एउटा युवा, कलेटी परेका ओंठमा आफ्नो भाग्य अजमाउन बृद्ध बाबुआमा, युवती पत्नी, काखे सन्तानलाई छाडेर तिनै ‘दलाल र लाल गद्दार’को देशबाट खाडी, मलेशिया, कोरिया वा अरु कुनै देश एकोहोरो भास्सिरहेको छ, सद्धे फर्केर आउने घुर्मैलो आशमा !
प्रतिक्रिया दिनुहोस्