
कञ्नपुर, माघ १८ । सरकारी कार्यालयका कर्मचारीहरुले तोकिएको पोशाक नलगाएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्मचारीको पोशाक भक्ता रोक्न सम्बन्धित निकायमा पत्राचार गर्ने भएको छ ।
सरकारी कार्यालयहरु सेवाग्राहीमैत्री नभएको गुनासो आएसँगै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्लास्थित केही कार्यालयको निरीक्षण गर्नु भएको थियो ।
अनुगमनका क्रममा कार्यालय प्रमुखबाहेक कुनैपनि कर्मचारीले पोशाक लगाएको नपाइएपछि उनीहरुको भत्ता रोक्न पत्राचार गरिने भएको हो ।
यस्तै, केही कर्मचारीले हाजिरीमा केरमेट गरेको, भोलिपल्टको हाजिरी गरेको र पूर्वस्वीकृती बिना अनुपस्थित भएको पाइएको छ ।
कर्मचारीहरुको सम्बन्धमा आएका जनगुनासोबारे मालपोत तथा नापी कार्यालयमा नमूना निरीक्षण गर्दा समयको पालना, आचरण, पूर्वस्वीकृती बिना नै अनुपस्थित लगाएतका समस्या भेटिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो ।
उहाँले यसअघि सहायक प्रमुख जिल्ला अधिकारीलाई सबै कार्यालयहरुको अनुगमन गर्न लगाएको बताउँदै सेवाग्राहीको गुनासो आउने क्रम नरोकिएपछि आफै निरीक्षणमा गएको बताउनुभयो ।
उहाँले लापरवाही गर्ने कर्मचारीलाई कारवाही गरिने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्