१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैतडीमा किशोरीको बलात्कारपछि हत्या


0
Shares

बैतडी, माघ २२ । बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको हो ।

ती किशोरीको शव स्थानीय लवलेक जंगलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्तले जानकारी दिनुभयो ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर किशोरीको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको छ ।

मृतकका आफन्तले भन्नुभयो, “ मृतकको शरिरभरी निलडाम र घाउहरु रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन् ”

विगत केही दिनदेखि २÷४ जना केटाहरु मोटरसाइकलमा विद्यालय लैजाने पुर्याउने गरेका थिए भन्ने छ, ती केटाहरुमाथि नै शंका गरेका छौं उहाँले भन्नुभयो, “किटानी जाहेरी दिन्छौं, संलग्नलाई कडा कारवाहीको माग छ” संलग्नलाई कानुनी दायरामा नल्याउदासम्म घटनानस्थलबाट शव समेत नउठाउने आफन्तले बताएका छन् ।

ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेब नाथको भनाई छ ।

उहाँले भन्नुभयो, “घटना हुनु निकै दुखद छ, घटनामा संलग्नलाई आवश्यक कारवाही हुनुपर्छ,”

घटनास्थलकै प्रकृति हेर्दा शंकास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ बिच जंगलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ,थप कुरा अनुसन्धानपछि थाहा होला ” घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।

घटनालाई गम्भीर रुपमा लिएको र थप अनुसन्धानका लागि घटनास्थलतर्फ आफैं गइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

किशोरीको कसले किन हत्या गरेको हो भन्ने बिषयमा अहिले नै भन्न सकिने अवस्था छैन उहाँले भन्नुभयो, “घटना शंकास्पद रहेको छ, घटनास्थल पुगेपछि थप कुरा भन्न सकिन्छ”
घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत मगाईसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।