
काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा लिएर सभा गर्दैछ ।
यसका लागि नारायणहिटी दरबार संग्रहालयको मूल ढोका अगाडी नै मञ्च बनाइएको छ । दरबारमार्गको मूल सडक पूर नियन्त्रणमा लिइएको छ । सडकको डिभाइडर निकालेर प्रधानमन्त्री ओलीको प्लेक्स टाँगिएको छ ।
सरकारको नेतृत्व गरेको पार्टी आफै र स्वयं प्रधानमन्त्री जस्तो व्यक्ति सहभागि भई सम्बोधन गर्ने सभाका लागि नागरिकको आवतजावत, व्यवसाय र यातायात नै बन्द गरेर नियन्त्रण लिइएको छ ।

अरुले नागरिक अधिकारमाथि व्यवधान पुर्याएमा त सहजीकरण गर्ने कर्तव्य र दायित्व भएको सरकारका मुखिया स्वयं सहभागि हुने कार्यक्रममा नागरिकको चहलपहल हुने मुख्य क्षेत्रमै निशाना बनाइँदा दलहरुले जे गरे पनि हुने भन्ने सन्देश गएको छ ।
यसअघि नेकपाकै अर्को घटक पुष्पकमल दाहाल पक्षले यसैगरी भृकुटीमण्डप अगाडीको सार्वजनिक सडक नै कब्जा गरेर कार्यक्रम गरेको थियो ।
लोकतन्त्र, गणतन्त्र भनेको नागरिक सार्वभौम हुने व्यवस्था भनिए पनि दलहरुको मिचाह प्रवृत्ति बढ्न थालेको टिप्पणी हुन थालेको छ । नागरिकका हक अधिकार रद्दीको टोकरीमा मिल्क्याइएको यो उदाहरण हो ।

मिलेर पाँच वर्ष सत्ता चलाउन जनताले दिएको जनादेश नेताहरुको कुर्सी झगडाका कारण च्यातेर जनतालाई दुःख दिनु उचित हन सक्दैन । पार्टी झगडाकै निहुँमा विहीबार दाहाल समूहले आमहड्ताल नै गरेर अनाहकमा नागरिकलाई सास्ती दिए ।
ओलीको सभा भन्दै विहान ९ बजेदेखि नै विभिन्न नाकाबाट यातायातका साधन रत्नपार्क, पुरनो बसपार्क क्षेत्रमा जान रोक लगाउँदा सर्वसाधारण यात्रुले सास्ती ब्यहोर्नुपरेको छ ।

दलका नेताहरुलाई बन्ददेखि यस्ता कार्यक्रमले असर नगर्ने तर गरिखाने भुईंमान्छेहरु सँधै मारमा पर्ने प्रवृत्ति लगातार देखिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्