
काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओलीले दाहाल–नेपालले नेतृत्व गरेको नेकपा नरभंक्षी आन्दोलन गर्न खोजेको आरोप लगाउनुभएको छ ।
आफ्नो दल नेकपाले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहालले शाकाहारी आन्दोलन नहुने भन्दै मांशाहारी आन्दोलन गर्नुपर्ने बताउनुले उनीहरु नरभंक्षी भएको प्रष्ट भएको जिकीर गर्नुभयो ।
ओलीले भन्नुभयो, ‘बन्दमा गरीब÷श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी फाले । गरीब ट्याक्सीवालाको ट्याक्सी जलाए । ड्राइभर जलाउन खोज्ने पनि कतै सर्वहारावादी हुन्छ ?’
उहाँले थप्नुभयो, ‘शाकाकारी आन्दोलन हुन्न भनेको के हो ? मांशाहारी आन्दोलन भनेको के हो ? उनीहरुले नरभक्षी आन्दोलन गर्न खोजे । उनीहरु नरभंक्षी हुन् । अब मांशाहारी आन्दोलन गर्ने, हिंसा गर्ने दिन गए । अबको नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन ।’
सभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘आजको उपस्थितिले आफ्नो पार्टी देशकै ठूलो पार्टी, कम्युनिष्ट मध्येको ठूलो पार्टी भएको पुष्टि गरेको छ । आफ्नो पार्टी सार्वभौमिकताको रक्षा गर्ने पार्टी, विकास गर्ने, देश बनाउने पार्टी आफ्नै पार्टी हो ।
उहाँले भन्नुभयो, ‘कुन पार्टी मूल पार्टी, कुन सक्कली, कुन नक्कलीको फैसला पनि यसले गरिदियो । आज त्यसको टुंगो लाग्यो ।’
सभामा आउन नदिन बन्द–हड्ताल गरिएको भन्दै उहाँले ट्यासी जलाएकामा आलोचना गर्दै उक्त व्यक्तिलाई सरकारले क्षतिपूर्ती दिने बचन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्