१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भागरथी हत्या प्रकरणः स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो, शव परीक्षण प्रतिवेदन बुझाइँदै


0
Shares

Bhagrathi bhatta death after rape

बैतडी, माघ २६ । बलात्कारपछि हत्याको आशंका गरिएकी बैतडी दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएकाले स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरी प्रवक्ता जनक धाँमीले स्वाब परीक्षणबाट थप अनुसन्धानमा सहज हुने भन्दै भन्नुभयो, ‘घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ ।’

भागरथीको ‘भेजाइनल स्वाब’मा शङ्का लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ ।

यसअघि शनिबार जिल्ला अस्पतालमा भट्टको शवको परीक्षण गरिए थियो । तर परीक्षण प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन । जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले शव परीक्षणको रिपोर्ट आज प्रहरीलाई बुझाउने जानकारी दिनुभएको छ ।

शव परीक्षण भएको तीन दिनसम्म पनि आफन्तले भने शव बझेका छैनन् । भागरथीका काका शिवराज भट्टले बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने प्रष्ट पार्नुभयो ।

माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते घरनजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्र रुपमा हत्या गरी छाडिएको अवस्थामा फेला परेकी थिइन् ।

घरभन्दा एक घन्टा टाढाको दूरीमा रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययन गर्ने भागरथीलाई विद्यालयबाट घर फर्कदै गर्दा जंगलमा अपराधीले बलात्कारपछि हत्या गरेको थियो ।