२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीको सभामा ३५ हजार पनि थिएनन्, उनी रक्षात्मक भइसके–पुष्पकमल दाहाल


0
Shares

काठमाडौं, माघ २६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनमा दाहालले नारायणहिटी संग्रहालय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएको दाबी गर्दैै ओली रक्षात्मक अवस्थामा पुगेको बताउनुभयो ।

धाकधक्कु लगाउँदा पनि जनताले साथ नदिएको भन्दै दाहालले भन्नुभयो, ‘ओली रक्षात्मक अवस्थामा गइसके । उनीहरुको सुरक्षा निकायले पनि ३५ हजार बढी थिएनन् भनेपछि गाली झगडा शुरु भएको छ ।’

माघ २८ मा काठमाडौंमा एकताबद्ध जनप्रदर्शन गरिने भन्दै दाहालले संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि केपी ओली हार्न पुगेको बताउनुभयो ।

शिक्षक तथा वुद्धिजीवीहरूसँग तर्संने गरेको भन्दै दाहालले प्रधानमन्त्री ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराउने व्यक्ति भएको आरोप पनि लगाउनुभयो ।

दाहालले ओलीले शिक्षकलाई पार्टी संगठनमा राख्ने गरी बनाउन हुन्न भने पनि अहिले संगठन विस्तारका नाममा राख्न थालेको पनि बताउनुभयो ।

सोही कार्यक्रममा अर्का अध्यक्ष माधव नेपालले भने अहिलेको संघर्ष व्यक्ति केपी ओलीसँग नभई ओली प्रवृत्तिविरुद्ध भएको बताउनुभयो ।

ओलीमा पञ्च रवैया कायम रहेको भन्दै नेपालले ओलीलाई ‘नेकपा ओली बा’ पार्टी खोल्न सुझाव दिनुभयो ।