
काठमाडौं, माघ २६ । कृषि क्षेत्रमा वैदेशिक लगानी भित्राउँदा साना किसानहरुलाई मर्का नपर्ने गरी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारकोे बैठकमा सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्राउँदा देश भित्रका साना किसानहरुलाई मर्का पर्ने भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्राउँदा सरोकारवालासँग गहन छलफल गर्नुपर्ने बताउनुभयो ।
सरोकारवालाको छलफल बिना एकाएक विदेशी लगानी भित्रयाउँदा नेपालको पुरै कृषि क्षेत्र बिदेशीलाई हस्तान्तरण गरेजस्तै हुने उहाँको भनाई छ ।
सरकारले ऐन बनाउँदा विशेष ध्यान पुर्याउनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै डेरी उद्योग संघका उपाध्यक्ष निराजन श्रेष्ठले कृषिमा विदेशी लगानी भित्राउनु अघि नेपालका कृषकहरुको रोजगारीको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
जनशक्ति, जमिन र खाद्य सुरक्षामा पनि ध्यान पुर्याउनुपर्ने उहाँको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठुला उद्योगमा भित्र्याउन लागिएको बताउनुभयो ।
५० करोड भन्दा बढी लगानी गर्ने तथा आफैले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्नेलाई मात्रै भित्राइने उहाँले बताउनुभयो ।
विदेशी लगानीले साना उद्योगी, व्यवसायीलाई अप्ठ्यारो नपर्ने उहाँको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा नीति तथा कानुन बनाउँदा सम्बन्धित क्षेत्रको धारणा लिने गरेको बताउनुभयो ।
किसान र नीजि क्षेत्रलाई असर नपार्ने गरी कृषिमा विदेशी लगानी भित्रिने तथा यसले किसानलाई प्रतिस्पर्धि बनाउने पनि उहाँको भनाई छ ।
अब बन्ने कार्यविधि सबै पक्षको साथ लिएर बनाइने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्