१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली रक्षात्मक अवस्थामा पुगे : दाहाल


0
Shares

काठमाडौं, माघ २६ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक बाटोतिर गइसकेको दावी गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आफू निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद बैठकमा अध्यक्ष दाहालले ओली रक्षात्मक अवस्थामा पुगेको जिकिर गर्नुभयो ।

उहाँले वातावरण विस्तारै सकारात्मक हुँदै गएको भन्दै यसले प्रतिक्रान्तिकारीहरुलाई हराइ छोड्ने विश्वास ब्यक्त गर्नुभयो ।

२३ गते काठमाडौंमा भएको जनप्रदर्शनमा तीन लाख मानिस उतार्ने भने पनि सुरक्षा संयन्त्रले ३५ हजारभन्दा धेरै नआएको भनेपछि उनीहरुबीच विवाद बढेको अध्यक्ष दाहालको जिकिर थियो ।

ओलीले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिडेकाले आफुहरु त्यस विरुद्धको संघर्षमा उत्रेको उहाँको भनाइ थियो ।

अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिदै ‘ओली बा समूह’ खोल्न सुझाव दिनुभयो ।

विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरे पनि पुरानै शैलीमा हिड्ने बानी कायमै रहेकाले ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उहाँले आफुहरुको संघर्ष व्यक्ति भन्दा पनि सामन्तवादी प्रवृत्ति विरुद्ध रहेको स्पष्ट पार्नुभयो ।

एउटै केपी ओलीबाट आजित भइसको भन्दै अध्यक्ष नेपालले ओलीको नयाँनयाँ अवतार आए देश थिलोथिलो भएर सिद्धिने जिकिर गर्नुभयो ।

प्रतिगमनविरुद्धको लडाईँमा जसरी पनि जित्नु पर्ने भन्दै उहाँले संविधानको रक्षाका लागि सबैको साथ आवश्यक रहेको बताउनुभयो ।