१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाहाल-नेपाल समूह अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोशिस गर्दै


0
Shares

काठमाडौं, माघ २७ । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने कोशिस भइरहेको जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग मंगलबार कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहालले चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको बताउनुभयो ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय समर्थन जुटाउन अलग अलग कुरा भइराखेका भन्दै लोकतन्त्रका पक्षमा नेपाली जनतलाई समर्थन चाहियो भनेर औपचारिक अपिल गरेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको अध्यक्ष दाहालको भनाइ थियो ।

अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत हुनसक्ने उहाँले बताउनुभयो ।

पत्रकारले राखेको जिज्ञासाको जवाफमा अध्यक्ष दाहालले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री निकट मानिसहरुले सेटिङ भइसकेको छ, सर्वोच्च र निर्वाचन आयोगले हामीले भनेअनुसार नै निर्णय गर्छ भनेर तलसम्म प्रचार गरेपनि त्यस्तो हुँदैन भन्ने उहाँको विश्वास थियो ।

तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले जबर्जस्ती निर्वाचन भनिए त्यसलाई सहज ढंगले लिनसक्ने स्थिति नरहने अध्यक्ष दाहालको भनाइ थियो ।

आफूहरु निर्वाचन विरोधी नभएको भन्दै उहाँले शान्तिपूर्ण प्रतिस्पर्धा, आवधिक निर्वाचन र स्वतन्त्र न्यायपालिकामा आफूहरुको प्रतिवद्धता रहेको र शान्ति सम्झौतापछि पटकपटक निर्वाचनमा सहभागी भएर त्यसलाई सावित गरिसकेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश कदमलाई सदर गरियो नेपाल निक्कै ठूलो राजनीतिक भूमरीमा पर्ने अध्यक्ष दाहालको चेतावनी छ ।

अर्को एक प्रसंगमा उहाँले प्रधानमन्त्री ओली हिन्दु महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष भन्नेबारेमा प्रश्न उठेको बताउनुभयो ।

धर्मप्रति हाम्रो कहिँकतै नकारात्मकता नभएको भन्दै राज्य धर्मनिरपेक्ष हुनु पर्ने बताएको उल्लेख गर्नुभयो ।