१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय महिला लिगमा आर्मी र पुलिस विजयी


0
Shares

काठमाडौं, माघ २७ । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत मंगलबारका खेलमा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई २/० ले पराजित गर्दै छैटौं जित हासिल गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीलाई जिताउन शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरिन ।

खेलको ८३ औं मिनेटमा वालिङकी क्यामरुनी डिफेन्डर नोइली दोहोरो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।

यता मंगलबारकै अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकालाई ३/० ले पराजित गरेको छ ।

पुलिसका लागि निरु थापाले दुई तथा निर्मला उपाध्यायले एक गोल गरिन ।

यो खेलपछि लिग तालिकामा सशस्त्र प्रहरीको एपीएफ ७ खेलबाट २१ अंकसहित शीर्ष स्थानमा रहँदा ८ खेलबाट १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ ।

पुलिस र वालिङको ८ खेलबाट समान ११ अंक भएको छ ।

१० अंकको विराटनगर पाँचौें स्थानमा झरेको छ ।

चन्द्रपुर नगरपालिका छैटौं तथा अंकविहीन चौदण्डीगढी नगरपालिका पुछारमा छ ।

बुधबार शीर्ष स्थानको सशस्त्र प्रहरीको एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकासँग दिउँसो २ बजे खेल्नेछ ।