
काठमाडौं, माघ २९ । चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा अधिकाशं राष्ट्रिय गौरवको आयोजनाको भौतिक प्रगती ५० प्रतिशत भन्दा कम भएको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक मुल्याकंन प्रतिवेदन अनुसार विभिन्न आयोजनाको कार्यप्रगती ५० प्रतिशत भन्दा कम देखिएको हो ।
अर्थमन्त्रालयले राष्ट्रिय गौरवको आयोजनाको निर्माण गर्ने मोडालिटि, कुल लागत, जग्गा प्राप्ती मुआब्जा क्षतीपूर्ति, विस्तृत परियोजना प्रतिवेदन जस्ता आधारभुत विषय यकिन नगरि आयोजना छनौट हुँदा राष्ट्रिय गौरवका आयोजनाको काम अघि बढ्न नसकेको अर्थमन्त्रालयल अर्धवार्षिक मुल्याकंन प्रतिवेदनमा औंल्याएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा बहुचर्चित बुढि गण्डकी जलविद्युत आयोजनाको जम्मा १ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ ।
यस्तै पुस मसान्तसम्ममा पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाको काम १३.२३ प्रतिशत, हुलाकी राजमार्गको २५.९४ प्रतिशत, उत्तरी दक्षिण लोकमार्ग कोसी कोरिडोर तर्फ १४.९८ प्रतिशत, उत्तर दक्षिण लोकमार्ग वेनी जोमसोम कोरोला सडक खण्डको १३.५, उत्तर दक्षिणी लोकमार्ग कर्णाली कोरिडोरको १० प्रतिशत, रेल, मेट्रोरेल तथा मोनोरेलको २२ तथा काठमाडौं तराई मधेश द्रुतमार्गको ११ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ ।
यस्तै गल्छी, त्रिशुली, मैलुङ स्याफ्रुबेसी सडकको काम ३३ प्रतिशत हुँदा गौतमबुद्ध विमानस्थलको ३० प्रतिशत, पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलकाृ २१ प्रतिशत, निजगढ अन्तराष्ट्रिय विमानस्थल ३० प्रतिशत र पशुपत्ति क्षेत्र विकास कोषको ३५ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ ।
यस्तै यस अवधीमा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको जम्मा ६९ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ भने असार भित्रै बाट सञ्चालनमा आउने दाबी गरिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ४५ प्रतिशत मात्रै भौतिक प्रगती भएको अर्थमन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
जिम्मेवार निकायहरुको लापरबाह तथा राजनितिक पँहुचका आधारमा मात्रै आयोजना छनौट प्रवृत्तिले गर्दा राष्ट्रिय गौरवका आयोजनाको काम समयमै सम्पन्न नहुने अर्थविद् केशव आचार्य बताउनुहुन्छ ।
तर अर्थमन्त्रालयले भने दक्ष प्रविधीक र प्रविधिको अभावका साथै आयोजना संञ्चालन गर्ने संघिय निकाय, प्रदेश र स्थानिय तहबिच कार्यगत समन्वय नहुँदा काम भौतिक प्रगती हुन नसकेको बताउँदै आएको छ ।
६ महिनामा राष्ट्रिय गौरवका आयोजनाको १५ प्रतिशत मात्रै खर्च भएको छ ।
पौष मसान्तसम्ममा कुल विनियोजित बजेटको जम्मा १५.१९ प्रतिशत अर्थात १३ अर्ब ९८ करोड मात्रै खर्च भएको हो ।
चालु आर्थिक वर्षमा सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि ९२ अर्ब ६ करोड २३ लाख विनियोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्