
काठमाडौं, माघ ३० । कोरोना (कोभिड १९)का कारण आर्थिक गतिविधी हुन नसक्दा १० प्रतिशत उद्योगहरु पुर्ण रुपमा बन्द भएको उद्योग मन्त्रालयले जनाएको छ ।
उद्योग मन्त्रालयले गरेको कोरोनाले उद्योगमा परेको प्रभाव सम्बन्धि अध्ययन अनुसार १०.८१ प्रतिशत पूर्ण रुपमा बन्द रहेका छन् भने ८९ दशमलव १९ प्रतिशत उद्योग व्यवसायहरु आंशिक रुपमा संचालनमा छन् ।
पूर्ण रुपमा बन्द भएका उद्योगमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी ४ दशमलव ३ प्रतिशत उद्योगको उत्पादन क्षमतामा उल्लेख्य रुपमा गिरावट आएको छ भने ७६ दशमलव ४७ प्रतिशत उद्योगले कच्चा पदार्थ प्राप्तिमा कठिनाई हुनका साथै श्रमिक परिचालनमा समेत समस्या परेको गुनासो गरेका छन् ।
कोभिड १९ ले सबै मझौला उद्योगको उत्पादन र बजारीकरणमा असर पर्नका साथै ठुला उद्योगको हकमा भने कच्चा पदार्थको प्राप्ती वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन र बजारिकरण सबै क्षेत्रमा असर परेको पाइएको छ ।
अध्ययनमा सहभागी उद्योगहरु मध्ये १६ दशमलव २२ प्रतिशत उद्योगले मात्र नाफा कमाएको बताएका छन् ।
नाफामा रहेका उद्योग मध्ये ६६ दशमलव ६७ प्रतिशत ठुला उद्योग रहेका छन् ।
यस अध्ययनमा सहभागीहरुले उद्योग व्यवसाय पूर्ण संचालनको लागि सरकारले व्याजदरमा विशेष छुट, सहुलियत दरमा ऋण करमा विशेष छुट दिनुपर्ने, उत्पादनका आधारमा विद्युतको डिमाण्ड शुल्क निर्धारण गर्नुपर्ने, पुर्नकर्जा उपलब्ध गराउनु पर्ने लगायतका माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्