
काठमाडौं, फागुन २ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले प्रमाण झिकाउने आदेश दिएको हो ।
अख्तियारले विशेष अदालतमा मुद्दा गर्दा गर्दा तयार पारेको अभियोग पत्रको प्रमाणित कपी झिकाउन आदेश भएको हो ।
ललिता निवास प्रकरणमा अख्तियारले नीतिगत निर्णयमात्र गरेको भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।
तर सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने निर्णय गरेकाले भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गर्नुभएको थियो ।
अब अख्तियारले उक्त कागजात पठाउनुपर्ने छ ।
मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ ।
वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ ।
नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री बन्नु भएको थियो ।
अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो ।
अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्