१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आगामी निर्वाचनमा आचारसंहिता कडाइ गर्ने आयोगको तयारी


0
Shares

काठमाडौं, फागुुन २ । निर्वाचन आयोगले आगामी मध्यावधि निर्वाचनमा खर्च व्यवस्थापन र प्रचारलाई कडाइ गर्ने गरी आचारसंहिता ल्याउने तयारी गरेको छ ।

निर्वाचन आचारसंहिता बारे आयोगले आज गरेको सर्वदलीय छलफलमा आगामी निर्वाचनमा खर्च व्यवस्थापन र प्रचारप्रसारलाई कडाई गर्ने गरी आचारसंहिता ल्याउने जानकारी दिएको हो ।

खर्च व्यवस्थापन र प्रचारलाई कडाई गर्ने भने पनि आयोगले अघिल्लो निर्वाचनमा चौतर्फी बिरोध भएको हेलिकप्टर चार्टर्ड गर्ने छुट भने दिएको छ ।

यस्तै, आयोगले आचारसंहिता उल्लंघन गरेमा एक लाख जरिवाना र उम्मेद्वारी खारेज गर्ने व्यवस्था गर्ने भएको छ ।

छलफलमा सहभागि नेकपाको दाहाल–नेपाल समूहका नेता लिलामणी पोखरेलले संसदमा ६४ प्रतिशत जनमत भएको पार्टीको विवाद समाधान नगरी कसरी चुनाव हुन्छ भन्दै आयोगलाई प्रश्न गर्नुभएको थियो ।

प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट सर्वदलिय बैठकमा सहभागि नेता आनन्दप्रसाद ढुंगानाले चुनावको मुखमा हातहतियार प्रर्दशन, सरुवा बढुवा लगायत निर्वाचन प्रभावित हुने गतिविधि नियन्त्रणमा कडाई गर्नुपर्ने बताउनुभयो ।

छलफलमा सहभागि साना राजनीतिक दलका प्रतिनिधिहरुले भने निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

निर्वाचन आयोगले आगामी निर्वाचन केन्द्रीत आचारसंहिता मस्यौदालाई अन्तिम रुप दिएर दलहरुसंग छलफल गरेको हो ।

छलफलमा विभिन्न १४ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।